काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज (चैत २ गते)देखि ‘ग्लोबल मनि विक २०२६ मनाउँदैछ । बोर्डले एक सातासम्म ग्लोबल मनि विक मनाउनेछ ।
उक्त अवसरमा बोर्डले सेयरबजारमा लगानी गर्ने युवा तथा सर्वसाधारणलाई बजारमा लगानी गर्नुअघि र लगानी गरेपछि के कुरामा ध्यान दिनुपर्छ भन्ने मुख्य सन्देश दिएको छ ।
बोर्डले लगानीकर्तालाई उपयुक्त सूचना लिएर मात्रै दोस्रो बजारमा कारोबार गर्न, सूचीकृत कम्पनीको आधिकारिक रुपमा जारी गरेको कार्य सम्पादन स्थिति, देशको समग्र आर्थिक स्थिति, सामाजिक संजालहरुमा अरुको पोष्ट देखेर सेयर नकिन्न, बैंकको तरलता तथा ब्याजदरले प्रत्यक्ष पार्ने हुँदा यससम्बन्धि जानकारी लिन र कर्नरिङ तथा मूल्यमा हुनसक्ने अस्वभाविक उतारचढाव जस्ता गतिविधिहरुबाट टाढै रहन सुझावहरु दिएको छ ।
लगानीकर्ताका लागि बोर्डको मुख्य सन्देश
–धितोपत्र बजारमा समय समयमा उतारचढाव आउन सक्ने भएकोले धितोपत्रमा लगानी गर्दा यथार्थ र उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भई लगानी सम्बन्धी निर्णय लिनुहोस् ।
–धितोपत्र बजारमा नवप्रवेशीले प्राथमिक बजारबाट लगानी प्रारम्भ गर्नुहोस् । प्राथमिक बजारमा लगानी गर्दा धितोपत्र निष्काशनकर्ता कम्पनीको आव्हानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति र क्रेडिट रेटिङस्तर जस्ता महत्वपूर्ण पक्षहरुको विश्लेषण गर्नुहोस् ।
–धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सूचीकृत कम्पनीले आधिकारीक वा प्रमाणित रुपमा जारी गरेको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै लाभांश घोषणा, हकप्रद सेयरको घोषणा, व्यवस्थापनमा परिवर्तन, भावी योजनाहरु, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरु, धितोपत्रको मूल्य प्रवृत्ति, कम्पनीको साधारण सभाको निर्णय (माइन्यूट) र कम्पनीसंग सम्बन्धित उद्योग क्षेत्रको अवस्था आदि जस्ता महत्वपूर्ण पक्षहरुको अध्ययन गर्नुहोस् ।
–लगानी गर्दा संस्थाको प्रकृती, कम्पनीले दिनसक्ने संभावित प्रतिफल, कम्पनीको आधारभूत पक्ष जस्तै (वित्तीय विवरणहरु, व्यवस्थापन, उद्योग र व्यापारको अवस्था, कानूनी वातावरण, व्यापार मोडेल, प्रतिस्पर्धात्मक लाभ ) को ख्याल राख्नुहोस् ।
– धितोपत्रमा लगानी गर्नुपूर्व आफ्नो लगानीको उद्देश्य, समयावधि, अपेक्षित आम्दानी जस्ता विषयहरुमा स्पष्ट भइ धैर्यता, लगनशीलता तथा दूरदृष्टि राखी लगानी गर्नुहोस् ।
–धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनीतिक स्थितिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सजग रहनुहोस् ।
–विभिन्न सामाजिक संजाल (जस्तै फेसबुक, ट्वीटर, क्लवहाउस, टिकटक, युटयूब, इन्ष्टाग्राम) मार्फत प्रकाशन तथा प्रसारण गरिने अनुमान तथा प्रक्षेपण आधिकारीक नहुने भएकोले ती अनुमान, प्रक्षेपण, विचार र परामर्शको आधारमा मात्र लगानी सम्बन्धी निर्णय नलिनुहोस् ।
–उल्लेखित सामाजिक संजाल मार्फत हुने धोका, जालसाजी तथा छलकपट वाट बच्न स्वयं सचेत रही स्वतन्त्र रुपमा आफ्नो स्वविवेकले निर्णय गर्नुहोस्
–अरुको देखासिखी र लहलहैमा लागेर धितोपत्रमा लगानी नगर्नुहोस् ।
–लगानीका अवसरहरू स्वतन्त्र रूपमा अनुसन्धान गर्नुहोस्, निर्णयमा हतार नगर्नुहोस्, अत्याधिक फाइदाको ग्यारेन्टी दिने वाचा प्रति सावधान हुनुहोस्, र तपाईंलाई छिटो निर्णय लिन दवाव दिने व्यक्तिहरूलाई विश्वास नगर्नुहोस् ।
–धितोपत्र बजारमा मुद्रास्फिति, बैंकको तरलता तथा व्याजदरले प्रत्यक्ष असर गर्ने हुनाले लगानी गर्दा यस्ता विषयलाई मनन् गरी लगानी सम्बन्धी निर्णय लिनुहोस् ।
–जोखिमबाट जोगिन लगानीको विविधीकरण गर्नुका साथै आपतकालीन कोष राखेर जोखिम व्यवस्थापन गर्नुहोस् ।
–धितोपत्र बजारमा भित्री सूचनाका आधारमा हुन सक्ने कारोवार, कर्नरिङ्ग तथा मूल्यमा हुनसक्ने अस्वभाविक उतारचढाव जस्ता गतिविधिहरुबाट टाढै रहने र यस्ता गतिविधिहरुको सम्बन्धमा आवश्यक सावधानी अपनाउने गर्नुहोस् ।
–धितोपत्र कारोवारमा रकमको लेनदेन गर्दा बैंकमार्फत मात्र गर्नुहोस् । धितोपत्र कारोवार वापत धितोपत्र दलालले लिने शुल्क सम्बन्धमा रहेको कानुनी व्यवस्थाको जानकारी लिनुहोस् ।
–धितोपत्र बजारमा कारोबार गर्दा नेपाल धितोपत्र बोर्ड बाट अनुमती प्राप्त धितोपत्र व्यवसायी मार्फत मात्र कारोवार गर्नुहोस् ।
–संस्थागत लगानीकर्ताको लगानी अभ्यास, जोखिम व्यवस्थापन एवं लगानी सम्बन्धी रणनीतिहरु समेत अध्ययन गरी आफ्नो लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।
–धितोपत्र बजार, वित्त बजार, बीमा बजार तथा सम्बन्धित नीति, नियम तथा निर्देशनहरु सम्बन्धी आधिकारीक जानकारीका लागि सिडिएससी, नेप्से, धितोपत्र बोर्ड, बीमा समिति, नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयको वेबसाइट हेर्ने गर्नुहोस् ।
–धितोपत्रमा लगानी सम्बन्धी कुनै जिज्ञासा वा गुनासाहरु भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्काशनकर्ता तथा सूचीकृत कम्पनी, सिडिएससी, नेप्से वा बोर्डमा सम्पर्क राख्नुहोस् ।

