काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष कर्णाली डेभलपमेन्ट बैंकका पीडित बचतकर्ताहरूले खुला पत्रमार्फत आफ्नो बचत फिर्ता गराइदिन माग गरेका छन्।
पीडितहरूको समूहले “देश–विदेशमा दुःख गरेर कमाएको रकम बैंकमा राखिएको भए पनि डेढ वर्ष बितिसक्दा समेत निकाल्न नपाएको” गुनासो गरेका छन्। उनीहरूले बैंकका सञ्चालकले बचत रकम दुरुपयोग गरेको आरोप लगाउँदै सम्बन्धित निकायबाट कुनै स्पष्ट जानकारी नआएको बताएका छन्।
खुला पत्रमा नेपाल राष्ट्र बैंक ले समेत समस्या समाधानमा प्रभावकारी कदम नचालेको भन्दै आलोचना गरिएको छ। “फोन, सन्देशको जवाफ नआउने, केवल आश्वासन मात्रै दिने” अवस्थाले जनजीवन प्रभावित भएको उल्लेख गरिएको छ।
विदेशमा रहेका युवाहरूले पठाएको रेमिट्यान्ससमेत बैंकमा अड्किएको भन्दै उपचार, दैनिक खर्च र पारिवारिक जिम्मेवारी धान्न कठिन भएको पीडितहरूको भनाइ छ।
पीडितहरूले अर्थमन्त्री वाग्लेलाई तत्काल प्रक्रिया अघि बढाई बचतकर्ताको रकम फिर्ता गराउन आग्रह गरेका छन्।

