काठमाण्डौ ।चालू आर्थिक वर्ष २०८०/ ०८१ को ६ महिनामा नेपालबाट ७ अर्ब रुपैयाँ बराबरको कफी तथा चिया निर्यात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त अवधिमा ७ अर्ब २४ करोड ४६ लाख ५६ हजार रुपैयाँको कफी तथा चियालगायत वस्तु निर्यात गरेको हो ।
७ अर्ब २४ करोड ४६ लाख ५६ हजार रुपैयाँको कफी, चियालगायत वस्तु निर्यात गर्दा नेपालले ५ अर्ब ६८ करोड ११ लाख ५३ हजार रुपैयाँको आयात गरेको छ ।
नेपालले अन्य कृषिजन्यवस्तुमा घाटा व्यहोरेपनि कफी तथा चियामा नाफा गरेको छ । उक्त अवधिमा उक्त वस्तुको कारोबार गर्दा १ अर्ब ५६ करोड ३५ लाख ३ हजार रुपैयाँ नाफा भएको छ । सरकारले सो कारोबारबाट १ अर्ब ५४ करोड ७१ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
नेपालबाट अस्ट्रेलिया, फ्रेन्स, जापान, कोरिया, नेडरल्याण्ड, जर्मनी लगायत मुलुकमा कफी र चिया निर्यात गरिन्छ भने अस्ट्रेलिया, चीन, भारत लगायतका मुलुकबाट भने आयात गरिन्छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जारी गरेको तथ्यांकअनुसार नेपालमा २० हजार २३७ हेक्टर जमीनमा करिब २६ हजार ३७९ मेट्रिक टन चिया र ३ हजार ३४६ हेक्टर जमीनमा ३५४ मेट्रिक टन कफी उत्पादन हुन्छ ।
आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालले ३ अर्ब ९३ करोड ७२ लाख ६० हजार रुपैयाँ बराबरको १६ हजार ५९४ मेट्रिक टन चिया निर्यात गरेको छ । सोही वर्ष नेपालले करीब १३ करोड रुपैयाँको २७७ मेट्रिक टन चिया आयात गरेको छ ।
त्यसैगरी, सोही अवधिमा १३ करोड ४ लाख ४१ हजार रुपैयाँ बराबरको करीब ७८ मेट्रिक टन कफी नेपालले निर्यात गरेको छ भने ३२ करोड ५८ लाख रुपैयाँको ४५० मेट्रिकटन कफी नेपालले आयात गरेको छ ।
अर्थोपार्जन, रोजगारी र पर्यटकीय आकर्षणको सम्भावनामा चिया र कफी दुवै क्षेत्रको योगदान ठूलो छ ।