काठमाण्डौ । नवील बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा देखाएको प्रगतिलाई बाँकी ३ महिनामा पनि कायम राख्न सके सेयरधनीले उच्च लाभांश पाउने क्षमता बन्ने देखिएको छ ।
बैंकले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो संकेत गरेको हो । विवरणअनुसार, गत वर्षको यही अवधिमा १२.६८ रुपैयाँमा सीमित प्रतिसेयर नाफा (डिपिएस, वार्षिकीकरण) बढेर २१.१६ रुपैयाँ पुगेको छ ।
गत वर्ष २ अर्ब ८७ करोडमा सीमित वितरणयोग्य मुनाफा बढेर यो वर्ष ४ अर्ब ३७ करोडभन्दा माथि पुगेसँगै डिपिएसमा पनि करिब ६७ प्रतिशतको उछाल देखिएको हो ।
बैंकले खराब कर्जा अनुपात (एनपीएल)मा गरेको चमत्कारिक सुधारका कारण अधिकांश प्रमुख वित्तीय सूचकहरूमा सकारात्मक उछाल देखिएको छ । अघिल्लो वर्षको ९ महिनामा १.५९ प्रतिशत रहेको यस्तो अनुपात घटेर समीक्षा अवधिमा ०.९८ प्रतिशतमा सीमित भएको छ ।
बैंकले अघिल्लो वर्ष ११.३० प्रतिशतमा सीमित रिटर्न अन इक्विटी (आरओई) बढाएर १३.६६ प्रतिशत तथा १.१६ प्रतिशतमा सीमित रिटर्न अन एसेट (आरओए) बढाएर १.३४ प्रतिशत पुर्याएको छ ।
बैंक व्यवस्थापनले रिकभरीमा केन्द्रित भई खराब कर्जा घटाउन सफल भएको र केही लचक नियामकीय व्यवस्थाको प्रभावले सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम उल्लेख्य रूपमा घटेको छ । गत वर्ष यही अवधिमा २ अर्ब २९ करोड छुट्याइएको यस्तो रकम यो वर्ष घटेर करिब ४८ करोडमा सीमित भएको छ ।
नौ महिनामा बैंकको खुद नाफा ६ अर्ब ७६ करोडभन्दा माथि पुगेको छ, जुन अघिल्लो वर्ष ५ अर्ब ५ करोडमा सीमित थियो ।
यस्तै, अघिल्लो वर्ष ७ अर्ब ६२ करोडमा सीमित सञ्चालन मुनाफा बढेर ९ अर्ब ६१ करोडभन्दा माथि पुगेको छ ।
समीक्षा अवधिमा बैंकले १२ अर्ब ४५ करोडभन्दा बढी खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १२ अर्ब ५ करोडमा सीमित थियो ।
नाफामा उत्साहजनक वृद्धिसँगै गत वर्ष २५.०५ रुपैयाँमा सीमित वार्षिकीकृत प्रतिसेयर आम्दानी (इपीएस) बढेर यो वर्ष ३३.०२ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म बैंकले ५ खर्ब ७८ अर्ब ३४ करोडभन्दा बढी निक्षेप संकलन गरी ४ खर्ब ४७ अर्ब ९४ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म ५ खर्ब २४ अर्ब ६२ करोड निक्षेप संकलन गरी ४ खर्ब १० अर्ब ९९ करोड कर्जा परिचालन गरिएको थियो ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २४३.३० रुपैयाँ, मूल्य–आम्दानी अनुपात १६.०५ गुणा, प्रतिसेयर कुल सम्पत्ति २,६५५.२४ रुपैयाँ तथा तरलता अनुपात २८.९२ प्रतिशत कायम रहेको छ ।

