काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो ६ महिनामा नेपालको व्यापार घाटा ६ खर्ब ९३ अर्ब भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार उक्त अवधिमा नेपालले व्यापार गर्ने मुलुकमध्ये १२८वटा मुलुकसँग घाटा बेहोरिरहेको छ ।
जसमा सबैभन्दा बढी व्यापार घाटा छिमेकी मुलुक भारत र चीनसँग छ ।
उक्त अवधिमा भारतबाट ४ खर्ब ७४ अर्ब ८९ करोडको आयात हुँदा ५० अर्ब ४४ करोडको निर्यात भएको छ । अर्थात् उक्त अवधिमा भारतसँग ४ खर्ब २४ अर्ब ४४ करोड रुपैयाँ घाटा भएको छ ।
दोस्रोमा चीनसँग धेरै घाटा छ । उक्त अवधिमा चीनसँग भने १ खर्ब ४५ अर्ब ७९ करोड घाटा छ । १ खर्ब ४७ अर्ब ३९ करोड रुपैयाँको आयात हुँदा १ अर्ब ६० करोडको मात्रै निर्यात भएको छ ।
भन्सार विभागका अनुसार नेपालले १५५ मुलुकसँग द्विपक्षीय व्यापार गर्छ । यसमध्ये १२८ मुलुकसँगको व्यापार घाटा र २७ मुलुकसँगको व्यापार नाफामा छ । आयात–निर्यात व्यापारमा चाहिं सबैभन्दा अगाडि भारत नै छ ।
विभागबाट प्राप्त तथ्यांक अनुसार यूएईसँग १२ अर्ब २६ करोड घाटा छ । युक्रेनसँग ९ अर्ब ९६ करोड, मलेशियासँग ८ अर्ब ६० करोड, अस्ट्रेलियासँग ६ अर्ब ८३ करोड र इन्डोनेशियासँग ६ अर्ब ३१ करोड रुपैयाँ व्यापार घाटा छ ।
उता सार्कमुलुकमध्ये बंगलादेशसँग भने २ अर्ब ३ करोड घाटा छ । भुटानसँग ३५ करोड घाटा छ । त्यसो त माल्दिभ्स र अफगानिस्तानसँगको व्यापार भने नाफामा छ ।
माल्दिभ्ससँग २ करोड ३५ लाख नाफाको व्यापार भएको छ। यसैगरी, उक्त अवधिमा ८ खर्ब ४३ अर्ब १३ करोडको वैदेशिक व्यापार भएको छ । यसमध्ये ७ खर्ब ६८ अर्ब १६ करोडको आयात र ७४ अर्ब ९६ करोडको निर्यात भएको छ ।