शुक्रबार, श्रावण १,२०८३ 02:00:23
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 02:00:23
Bizshala
Global IME Bank Limited

१० रुपैयाँमा नयाँ किन्ने कि ९ रुपैयाँमै बजारबाट उठाउने ?

म्युचुअल फण्डमा लगानीकर्ताको नयाँ गणितः सस्तो पुरानै फाइदाजनक

१० रुपैयाँमा नयाँ किन्ने कि ९ रुपैयाँमै बजारबाट उठाउने ?
New Office

काठमाण्डौ । पछिल्लो समय विभिन्न मर्चेन्ट बैंक तथा फण्ड व्यवस्थापक कम्पनीहरूले धमाधम नयाँ म्युचुअल फण्ड सार्वजनिक निष्कासन (आईपीओ) ल्याइरहेका छन् । अधिकांश नयाँ योजनाहरू प्रतिइकाई १० रुपैयाँकै दरमा बिक्रीमा ल्याइएका छन् ।

तर यता दोस्रो बजारमा भने सोही प्रकृतिका दर्जनौं म्युचुअल फण्डका इकाईहरू १० रुपैयाँभन्दा निकै सस्तो मूल्यमा सजिलै उपलब्ध छन् । यसले लगानीकर्तामाझ एउटा महत्वपूर्ण प्रश्न उठाएको छ—जब बजारमै सस्तोमा फण्ड पाइरहेको छ भने नयाँ फण्डमै किन लगानी गर्ने ?

नेपाल धितोपत्र बोर्डको सामूहिक लगानी कोषसम्बन्धी व्यवस्थाअनुसार कुनै पनि म्युचुअल फण्ड सार्वजनिक निष्कासन गर्दा प्रतिइकाई १० रुपैयाँ मूल्य तोकिने व्यवस्था छ । यही कारण अहिले पनि नयाँ योजनाहरू १० रुपैयाँकै ‘फेस भ्यालु’ मा बिक्री भइरहेका छन् ।

तर दोस्रो बजारको वास्तविकता भने फरक छ । नेप्सेमा सूचीकृत ४२ वटा बन्दमुखी म्युचुअल फण्डमध्ये हाल २४ वटाभन्दा बढी योजनाको इकाईमूल्य १० रुपैयाँभन्दा तल कारोबार भइरहेको छ । कतिपय फण्ड त ९ रुपैयाँको दायरामै फालाफाल पाइरहेका छन् ।

यस्तो अवस्थामा गणितीय हिसाबले हेर्दा पनि लगानीकर्ताका लागि दोस्रो बजारबाट सस्तोमा इकाई उठाउनु तुलनात्मक रूपमा लाभदायक देखिन्छ ।

प्रतिफल उस्तै, मूल्य सस्तो

म्युचुअल फण्ड भनेको धेरै लगानीकर्ताबाट स-सानो रकम संकलन गरेर सेयर, ऋणपत्र, डिबेञ्चर, बैंक निक्षेप लगायतका वित्तीय साधनमा सामूहिक लगानी गर्ने व्यवस्था हो ।

नेपालमा सञ्चालनमा रहेका अधिकांश योजना बन्दमुखी प्रकृतिका छन् । यस्ता योजना नेप्सेमा सूचीकृत भएर दोस्रो बजारमा किनबेच हुन्छन् ।

विश्लेषकहरूका अनुसार नयाँ र पुराना फण्डबीच लगानीको प्रकृति, बजार जोखिम तथा प्रतिफलको आधारभूत संरचनामा खासै ठूलो अन्तर हुँदैन । फण्डको आकार र व्यवस्थापन क्षमताले केही फरक पार्न सक्ला, तर अधिकांश योजनाको लाभांश इतिहास र औसत प्रतिफल दर हेर्दा धेरै अन्तर देखिँदैन।

यदि प्रतिफलको सम्भावना लगभग उस्तै छ भने लगानीकर्ताले १० रुपैयाँ तिरेर नयाँ फण्ड किन्नुभन्दा दोस्रो बजारबाट सस्तो मूल्यमा पुराना फण्ड खरिद गर्दा बढी लाभ लिन सक्ने तर्क बजारमा बलियो बन्दै गएको छ ।

उदाहरणका लागि, कुनै फण्डको खुद सम्पत्ति मूल्य (न्याभ) राम्रो छ, लाभांश इतिहास पनि सन्तोषजनक छ, तर बजारमा प्रतिइकाई ९ रुपैयाँमै पाइरहेको छ भने त्यस्तो फण्ड दीर्घकालीन हिसाबले अझ आकर्षक बन्न सक्छ ।

‘नयाँ’ भन्दै महँगो किन्नैपर्ने बाध्यता छैन

पछिल्लो समय केही फण्ड व्यवस्थापक कम्पनीहरू ‘नयाँ योजना’ को आकर्षण देखाएर लगानीकर्तालाई आईपीओतर्फ आकर्षित गर्न सक्रिय छन् । तर अनुभवी लगानीकर्ताहरू भने ‘नयाँ’ हुनु मात्रै लगानीको आधार नहुने बताउँछन् ।

उनीहरूका अनुसार म्युचुअल फण्डमा मुख्य कुरा फण्डको पोर्टफोलियो, व्यवस्थापन क्षमता, न्याभ, लाभांश इतिहास र जोखिम व्यवस्थापन हो; केवल ‘नयाँ योजना’ भनेर महँगो मूल्यमा प्रवेश गर्नु बुद्धिमानी नहुन सक्छ ।

विशेषगरी दोस्रो बजारमा डिस्काउन्ट मूल्यमा उपलब्ध फण्डहरूले लगानीकर्तालाई कम लागतमा प्रवेश गर्ने अवसर दिइरहेका छन् । यसले दीर्घकालमा प्रतिफल दरलाई समेत आकर्षक बनाउन सक्छ ।

म्युचुअल फण्डमा लगानी गर्दा के हेर्ने ?

विशेषज्ञहरूका अनुसार म्युचुअल फण्डमा लगानी गर्दा केवल सस्तो मूल्य वा उच्च प्रतिफलको प्रचार मात्रै हेर्नु पर्याप्त हुँदैन ।

लगानीकर्ताले फण्डको प्रकार, अवधि, फण्ड व्यवस्थापकको विगतको प्रदर्शन, खर्च अनुपात, पोर्टफोलियोको गुणस्तर, जोखिम विविधीकरण तथा लाभांश इतिहास अध्ययन गर्नुपर्छ ।

यससँगै प्रतिइकाई बजार मूल्यभन्दा पनि ‘नेट एसेट भ्यालु’ (न्याभ) लाई बढी महत्व दिनुपर्ने जानकारहरूको सुझाव छ । न्याभले फण्डको वास्तविक सम्पत्ति मूल्य देखाउने भएकाले त्यसको उतारचढावबाट फण्डको वास्तविक प्रदर्शन बुझ्न सकिन्छ ।

विश्लेषकहरू भन्छन्:“यदि एउटै प्रकृतिको फण्ड दोस्रो बजारमा सस्तोमा पाइरहेको छ भने लगानीकर्ताले नयाँ निष्कासनमा हतारिनुभन्दा बजारमै उपलब्ध विकल्पको गहिरो अध्ययन गर्नु उपयुक्त हुन्छ ।”

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.