काठमाण्डौ । अमेरिकी धनाढ्य एलन मस्कको कम्पनीको टेस्लाले विश्वभर १० प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । अमेरिकी न्यूज वेबसाइट इलेक्ट्रेकले यस्तो जनाएको हो ।
ईभी कार निर्माण गर्ने टेस्लाले कारहरुको मागमा आएको कमीका कारण विश्वभर १० प्रतिशत कर्मचारी कटौती गर्ने योजना बनाएको रिपोर्टमा उल्लेख गरिएको छ ।
मार्केट भ्यालुका आधारमा विश्वको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी टेस्लाले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार सन् २०२३ डिसेम्बरसम्म कम्पनीमा १ लाख ४० हजार ४७३ कर्मचारी कार्यरत छन् ।
कम्पनीको कर्मचारी कटौती गर्ने निर्णयबाट लगभग १५ हजार जनाले रोजगारी गुमाउने छन् ।
रिपोर्टका अनुसार टेस्लाका सीईओ एलन मस्कले कर्मचारीहरुलाई पठाएको ई–मेलमा केहि क्षेत्रमा ‘रोल्स एण्ड जब फङसन’ लाई दोहोराउनका लागि यस्तो निर्णय गरिएको उल्लेख गरिएको छ ।
मस्कले आन्तरिक मेमोमा कम्पनीको वृद्धिका लागि अघिल्लो चरणमा जान तयार रहेको र यसका लागि लागतमा कटौती र उत्पादन बढाउनका लागि हरसम्भव उपायहर अबलम्बन गरिने बताएका छन् ।
उनले विश्वभर कम्पनीको कर्मचारीको संख्या १० प्रतिशतले कटौती गरिने समेत उल्लेख गरे ।
टेस्लाले आगामी अप्रिल २३ मा त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दैछ । पहिलो त्रैमासमा कम्पनीको सवारी डेलिभरीमा गिरावट आएको थियो । -एजेन्सी