काठमाण्डौ । चीनको मेङ झायोयी नामक टेक स्टार्टअपले पालतु जनावरको आवाज र व्यवहारलाई मानव भाषामा अनुवाद गर्ने दाबी गरिएको नयाँ एआई डिभाइस सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो स्मार्ट कलरले कुकुरको भुकाइ वा बिरालोको म्याऊँको अर्थ रियल टाइममा बुझाएर मालिकलाई जानकारी दिन सक्छ।
कम्पनीले विकास गरेको यो डिभाइस जनावरको घाँटीमा बाँधिने कलरका रूपमा प्रयोग हुन्छ। यसमा माइक्रोफोन, मोशन सेन्सर तथा एआई प्रणाली जडान गरिएको छ, जसले जनावरको आवाज, शरीरको हाउभाउ र गतिविधि विश्लेषण गरेर खुशी, डर, भोक, तनाव वा उत्साहजस्ता भावनाको अनुमान लगाउने बताइएको छ।
यो प्रणाली अलिबाबा क्याउडको क्युवेन एआई मोडेलमा आधारित रहेको कम्पनीको दाबी छ। उक्त मोडेललाई लाखौं जनावरका आवाज र व्यवहारसम्बन्धी डाटाबाट प्रशिक्षण दिइएको बताइएको छ।
कम्पनीका अनुसार डिभाइसको मूल्य ७९९ युआन पर्छ। प्रि–अर्डर खुलाएको केही दिनमै १० हजारभन्दा बढी अन्तर्राष्ट्रिय बुकिङ प्राप्त भएको दाबी पनि गरिएको छ।
तर डिभाइसले ‘९५ प्रतिशत सटीकताका साथ जनावरको भावना बुझ्ने’ दाबी गरे पनि त्यसलाई पुष्टि गर्ने स्वतन्त्र वैज्ञानिक अध्ययन वा पियर रिभ्युड’ अनुसन्धान सार्वजनिक गरिएको छैन। यही कारणले विज्ञहरूले कम्पनीको दाबीप्रति सावधानी अपनाउनुपर्ने बताएका छन्।
विशेषज्ञहरूका अनुसार एआईले केही व्यवहारिक ढाँचा पहिचान गर्न सक्ने भए पनि जनावरको वास्तविक भावना वा सन्देशलाई पूर्ण रूपमा मानव भाषामा अनुवाद गर्नु अहिले पनि चुनौतीपूर्ण विषय मानिन्छ। वास्तविक वातावरण, फरक प्रजाति र बाहिरी आवाजबीच यस्तो प्रणालीले कति प्रभावकारी रूपमा काम गर्छ भन्ने कुरा प्रयोगपछि मात्रै स्पष्ट हुने बताइएको छ।

