काठमाण्डौ । नेपालमा बसोबास गर्ने विदेशी नागरिकको विवरण अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गर्ने गरी सरकारले अध्यागमन कानून संशोधनको प्रक्रिया अघि बढाएको छ।
गृह मन्त्रालयले यससम्बन्धी नयाँ प्रावधानसहित विधेयकको मस्यौदा सार्वजनिक गरेको हो।
प्रस्तावित व्यवस्थाअनुसार नेपाल प्रवेश गर्ने विदेशी नागरिकले आफ्नो बसोबास स्थान, सम्पर्क नम्बर वा सम्पर्क व्यक्तिको विवरण अध्यागमन जाँच बिन्दुमै अनिवार्य रूपमा दर्ता गर्नुपर्नेछ।
त्यस्तै, होटल, होमस्टे, गेस्ट हाउस, धर्मशाला, होस्टेल, अपार्टमेन्ट, ध्यान तथा योग केन्द्र लगायतका आवासीय सुविधामा बस्ने विदेशीहरूको विवरण सम्बन्धित सञ्चालक वा घरधनीले संकलन गरी अध्यागमन कार्यालय, प्रहरी, स्थानीय तह वा डिजिटल प्रणालीमार्फत अनिवार्य रूपमा दर्ता गराउनुपर्नेछ।
शैक्षिक संस्था, विश्वविद्यालय, अस्पताल तथा नर्सिङ होमले पनि आफ्नो परिसरमा बस्ने वा उपचार लिने विदेशीहरूको विवरण नियमित रूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था प्रस्तावमा समावेश गरिएको छ।
विधेयकले विदेशी नागरिकको नेपाल प्रवेश, बसोबास र प्रस्थानसम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार नेपाल सरकारमा रहने स्पष्ट व्यवस्था गरेको छ।
साथै, वैध राहदानी र भिसा अनिवार्य हुने तथा तोकिएका कागजातका आधारमा मात्र प्रवेश अनुमति दिने प्रावधान पनि राखिएको छ।
गृह मन्त्रालयले तयार पारेको यो मस्यौदा हाल सार्वजनिक रायका लागि खुला गरिएको छ।
मन्त्रालयका अनुसार अध्यागमन प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र डिजिटल बनाउने उद्देश्यले कानुन संशोधन गर्न लागिएको हो।

