काठमाण्डौ । नेपाल इन्फ्रास्टक्चर बैंक लिमीटेड(निफ्रा)ले संस्थापक सेयर तत्काल सर्वसाधारणमा परिणत नहुने भन्दै बुधबार प्रकाशित सूचनाको अपव्याख्या नगर्न लगानीकर्ताहरुलाई आह्वान गरेको छ ।
निफ्राले संस्थापक सेयरको लकइन समयावधि आगामी फागुन २३ गते सकिने उल्लेख गर्दै आज सूचना प्रकाशन गरेको थियो । यो सूचनापछि बैंकको १२ करोड ९६ लाख कित्ता संस्थापक सेयर सबै एकैपटक साधारण सेयरमा परिणत हुने र बजारमा ठूलो सप्लाई आउने लगानीकर्ताहरुले विश्लेषण गरिरहेको बेला निफ्राले भने अनावश्यक भ्रममा नपर्न आह्वान गरेको हो ।
निफ्राको रिस्क डिपार्टमेन्ट हेड सुवर्णकुमार सिंहले बिजशालासँग कुरा गर्दै आफूले जारी गरेको सूचनाको अपव्याख्या भएको बताए ।
‘सूचनामा उल्लेख भएबमोजिम सरोकारवालाहरुलाई जानकारीका लागि मात्र संस्थापकको लकइन अवधि बारेको सूचना प्रकाशित गरेका हौं ।’ सिंहले भने–‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११(१) बमोजिम बैंकका संस्थापकहरुको सेयर बैंक सञ्चालनमा आएको मितिले कम्तीमा ५ वर्षसम्म बिक्रीवितरण गर्न वा धितो बन्धक राख्न नपाउने व्यवस्था छ । सोही बमोजिम सूचनामा अवधि उल्लेख गरिएको हो ।’
उनले निफ्राको संस्थापक सेयरको कारोबार भविष्यमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम नेपाल राष्ट्रबैंकको स्वीकृति बमोजिम मात्र हुने प्रष्ट पारे । उनले थपे–‘बजारमा हल्ला गरिएजस्तो संस्थापक सेयर सर्वसाधारणमा परिणत हुने होइन ।’

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                