बिहीबार, श्रावण १४,२०८३ 01:17:58
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:17:58
Bizshala
Global IME Bank Limited

सार्वजनिक चर्चाबीच हिमालयन लाइफको स्पष्टिकरणः नियमित सेवा र वित्तीय स्थायित्वमा कुनै असर परेको छैन

सार्वजनिक चर्चाबीच हिमालयन लाइफको स्पष्टिकरणः नियमित सेवा र वित्तीय स्थायित्वमा कुनै असर परेको छैन
New Office

काठमाण्डौ। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले हाल विभिन्न सञ्चारमाध्यम, अनलाइन पोर्टल तथा सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका धितोपत्रसम्बन्धी अनुसन्धान तथा न्यायिक प्रक्रियासँग जोडिएका समाचारका सन्दर्भमा आफ्नो नियमित व्यवसायिक सञ्चालन, वित्तीय स्थायित्व तथा सेवाप्रवाहमा कुनै प्रतिकूल प्रभाव नपरेको जनाएको छ।

कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमार्फत बीमित, अभिकर्ता, कर्मचारी, लगानीकर्ता तथा अन्य सरोकारवालाहरूलाई यथार्थ जानकारी गराउने उद्देश्यले आफ्नो धारणा सार्वजनिक गरेको हो।

विज्ञप्तिमा कम्पनीले नेपाल सरकारको प्रचलित कानून तथा नेपाल बीमा प्राधिकरणको नियामकीय व्यवस्थाअन्तर्गत स्थापित र सञ्चालित जिम्मेवार जीवन बीमा कम्पनीका रूपमा सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा नियामकीय अनुपालनलाई प्राथमिकतामा राख्दै व्यवसाय सञ्चालन गर्दै आएको उल्लेख गरेको छ।

कम्पनीका अनुसार हाल सार्वजनिक भएका विषयहरू सम्बन्धित नियामक निकाय तथा न्यायिक प्रक्रियासँग सम्बन्धित भएकाले कानूनको शासन, विधिको सर्वोच्चता तथा न्यायिक स्वतन्त्रताको पूर्ण सम्मान गरिनेछ। आवश्यकताअनुसार सम्बन्धित निकायलाई आवश्यक सहयोग उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

हिमालयन लाइफले सार्वजनिक भएका समाचार वा कुनै व्यक्तिविशेषसँग सम्बन्धित कानूनी प्रक्रियाले कम्पनीको संस्थागत अस्तित्व, नियमित व्यवसाय सञ्चालन, वित्तीय अवस्था, दायित्व बहन गर्ने क्षमता तथा सेवाप्रवाहमा कुनै असर नपारेको स्पष्ट पारेको छ।

कम्पनीले बीमालेख जारी तथा नवीकरण, प्रिमियम संकलन, बीमा दाबी परीक्षण तथा भुक्तानी, ग्राहक सेवा, अभिकर्ता व्यवस्थापन लगायत मुख्य कार्यालय, शाखा तथा उपशाखामार्फत प्रवाह गरिने सम्पूर्ण सेवाहरू पूर्ववत् नियमित रूपमा सञ्चालन भइरहेको जनाएको छ।

विज्ञप्तिमा कम्पनीको संस्थागत संरचना, निर्णय प्रक्रिया, आन्तरिक नियन्त्रण प्रणाली तथा वित्तीय व्यवस्थापन स्थापित कानूनी र संस्थागत प्रक्रियाअनुसार सञ्चालन हुने भएकाले कुनै एक व्यक्ति वा व्यक्तिगत विषयलाई कम्पनीको समग्र संस्थागत अवस्थासँग जोडेर मूल्याङ्कन गर्नु उपयुक्त नहुने उल्लेख गरिएको छ।

कम्पनीले बीमा व्यवसायको आधार विश्वास, दीर्घकालीन सुरक्षा तथा दायित्वप्रतिको प्रतिबद्धता भएको उल्लेख गर्दै बीमितहरूप्रति लिइएका दायित्वहरू समयमै र प्रभावकारी रूपमा पूरा गर्न आवश्यक वित्तीय, व्यवस्थापकीय तथा संस्थागत क्षमता विद्यमान रहेको जनाएको छ।

साथै, कम्पनीले सम्पूर्ण बीमित, अभिकर्ता, लगानीकर्ता तथा अन्य सरोकारवालाहरूलाई अफवाह, अनुमान वा अपुष्ट सूचनाको आधारमा निष्कर्षमा नपुग्न तथा आधिकारिक स्रोतबाट प्राप्त तथ्यमा आधारित जानकारीलाई मात्र विश्वास गर्न आग्रह गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.