काठमाण्डौ । अयोध्यास्थित राम मन्दिरमा चढावासम्बन्धी कथित चोरी प्रकरणको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान टोली (एसआईटी) ले प्रारम्भिक प्रतिवेदन बुझाएको छ।
उक्त प्रतिवेदनमा चढावा संकलन तथा व्यवस्थापनमा विभिन्न अनियमितता भएको उल्लेख गरिएको छ।
एसआईटीले चढावा प्राप्त हुने माध्यमहरूबारे पनि जानकारी दिएको छ।
प्रतिवेदनअनुसार चढावा हुन्डी, अनलाइन भुक्तानी तथा नगद काउन्टरमार्फत रसिदसहित संकलन हुने गरेको छ।
राम मन्दिर ट्रस्टको बैंक खाता तथा सोधपुछका आधारमा एसआईटीले औसतमा प्रत्येक महिना करिब २५ लाख श्रद्धालु दर्शनका लागि मन्दिर आउने गरेको पत्ता लगाएको छ।
कुम्भ मेलाको अवधिमा भने एक महिनामै करिब १ करोड श्रद्धालु मन्दिर पुगेका थिए।
अनुसन्धानका क्रममा प्रत्येक श्रद्धालुबाट औसत १५ देखि १८ रुपैयाँसम्म चढावा आउने गरेको देखिएको छ।
तर, यस गणनामा अन्न, तेल, घ्यू तथा सुन–चाँदीका गहनाको चढावा समावेश गरिएको छैन, किनभने ती दानसम्बन्धी कुनै ठोस प्रमाण वा अभिलेख फेला परेन।
बैंक विवरण र श्रद्धालुको संख्याको विश्लेषण गर्दा चढावाको रकममा ठूलो उतारचढाव देखिएको प्रतिवेदनमा उल्लेख छ।
श्रद्धालुको संख्या बढ्दा पनि चढावा घटेको देखियो
केही महिनामा श्रद्धालुको संख्या बढेको भएपनि चढावाको रकम कम देखिएको पाइएको छ।
यसबारे सोधपुछ गर्दा सम्बन्धित पक्षले त्यस अवधिमा नोटभन्दा सिक्काको चढावा बढी आएको बताएका थिए।
प्रतिवेदनमा मन्दिरमा केही कर्मचारी लिखित नियुक्ति वा आदेशबिना नै काम गरिरहेको तथ्य पनि उल्लेख गरिएको छ।
चढावा निगरानी समितिको लापरवाही औंल्याइयो
एसआईटीले चढावा गणना प्रक्रिया तथा चढावा निगरानी समितिको लापरवाहीबारे पनि प्रश्न उठाएको छ।
राम मन्दिर ट्रस्टका महासचिव चम्पत रायसहित केही पदाधिकारी र कर्मचारीको भूमिका शंकास्पद देखिएको प्रतिवेदनमा उल्लेख छ।
कर्मचारी नियुक्तिमा समेत अनियमितता फेला परेको छ। साथै, ट्रस्टलाई थप प्रभावकारी र पारदर्शी बनाउन विभिन्न सुझावहरू पनि दिइएको छ।
पाँच वर्षमा कर्मचारीहरूको सम्पत्ति उल्लेखनीय रूपमा बढ्यो
प्रतिवेदनअनुसार केही कर्मचारीको आम्दानी र सम्पत्तिमा पछिल्ला पाँच वर्षमा अस्वाभाविक वृद्धि देखिएको छ।
एसआईटीले अनुसन्धानका क्रममा ६० भन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको जनाएको छ।
सीसीटीभी फुटेजको अध्ययनपछि पनि केही गम्भीर प्रश्न उठाइएका छन्।
यद्यपि, कुल चढावा कति प्राप्त भयो र कुन स्रोतबाट आयो भन्ने स्पष्ट तथा प्रमाणित अभिलेख फेला नपरेकाले चढावा चोरी भएको हो वा होइन, तथा भएमा कति रकम चोरी भयो भन्ने कुरा प्रमाणसहित पुष्टि गर्न सम्भव नभएको एसआईटीले जनाएको छ।
प्रत्येक श्रद्धालुले चढाएको रकमको व्यवस्थित अभिलेख नभएकाले यकिन निष्कर्ष निकाल्न कठिन भएको प्रतिवेदनमा उल्लेख छ।
एसआईटीले एक साताभित्र प्रारम्भिक प्रतिवेदन र १५ दिनभित्र पूर्ण अनुसन्धान प्रतिवेदन पेश गर्ने जनाएको छ।
एजेन्सी

