काठमाण्डौ । सन् २०२६ फिफा विश्वकपमा उत्कृष्ट गोलकिपिङ प्रदर्शनसँगै गोलरक्षकहरूबाट भएका असामान्य गल्तीहरू पनि चर्चाको विषय बनेका छन्। विशेषगरी धेरै गोलकिपरले बलमा हात लगाए पनि गोल रोक्न नसकेका घटनाहरू दोहोरिएपछि प्रतियोगितामा प्रयोग भइरहेको आधिकारिक बल एडिडास ट्रियोन्डाको डिजाइन र उडान शैलीमाथि बहस सुरु भएको छ।
प्रतियोगिताको सुरुआती चरणमै केही गोलकिपरले अविस्मरणीय प्रदर्शन गरेका छन्। केप भर्डेका गोलरक्षक भोजिन्हाले स्पेनविरुद्ध उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीलाई ऐतिहासिक नतिजा दिलाए भने कुरासाओका एलोय रुमले १५ वटा बचाउ गर्दै विश्वकपको कीर्तिमान बराबरी गरेका छन्। इरानका अलिरेजा बेइरानभन्दले पनि बेल्जियमविरुद्ध लगातार उत्कृष्ट बचाउ गर्दै टोलीलाई बराबरीमा रोके।
तर अर्कोतर्फ इंग्ल्यान्डका जोर्डन पिकफोर्ड, सेनेगलका एडुआर्ड मेन्डी, अल्जेरियाका लुका जिदान र इराकका अहमद बासिलजस्ता अनुभवी गोलकिपरहरूले बल छोएर पनि गोल रोक्न नसकेको दृश्य पटकपटक देखिएको छ। यस्ता घटनाले फुटबल विश्लेषक र पूर्व खेलाडीहरूको ध्यान तानेको छ।
पूर्व इंग्ल्यान्ड गोलकिपर जो हार्टले यस्ता समान प्रकृतिका गोलहरू अत्यधिक देखिन थालेपछि यसको पछाडि नयाँ बलको विशेषता हुन सक्ने आशंका व्यक्त गरेका छन्। उनका अनुसार सामान्यतया उच्चस्तरीय गोलकिपरले बलमा हात लगाएपछि त्यसलाई गोलबाहिर धकेल्न सफल हुन्छन्। तर यस विश्वकपमा कन्धाभन्दा माथि आएका प्रहारमा पनि गोलकिपरहरूले बल नियन्त्रण गर्न नसकेको अवस्था बारम्बार देखिएको छ।
डेनमार्कका पूर्व अन्तर्राष्ट्रिय गोलकिपर कास्पर स्माइकलले पनि ट्रियोन्डा बलको संरचनामा उल्लेखनीय परिवर्तन भएको बताएका छन्। उनका अनुसार चारवटा मात्र प्यानल प्रयोग गरेर बनाइएको यो बलमा सिलाइ छैन, जसले गर्दा हावामा कम प्रतिरोध सिर्जना हुन्छ। परिणामस्वरूप बल अपेक्षाभन्दा केही छिटो यात्रा गर्ने र गोलकिपरलाई प्रतिक्रिया दिन आवश्यक समय झन् कम हुने गर्दछ। गोलकिपिङमा यस्ता साना अन्तरले पनि ठूलो प्रभाव पार्ने उनी बताउँछन्।
‘जब तपाई त्यसलाई विभिन्न मौसमसँग मिसाउनुहुन्छ, बलमा कम ड्याग हुन्छ । जसको अर्थ बल धेरै घुम्दैन र बल केही छिटो समेत हुनेगर्छ,’ उनले भने ।
तपाईंले केही गोलहरूमा गोलरक्षकहरू बलसम्म पुगेर पनि त्यसलाई रोक्न नसकेको देख्नुभएको छ। उदाहरणका लागि, जोर्डन किफोर्डले क्रोएसियाविरुद्धको पहिलो गोलमा, लुका जिदानले मेस्सीविरुद्ध, तथा इडोवार्ड मेन्दी विरुद्ध बल छोए पनि गोल हुनबाट जोगाउन सकेनन् उनले थपे, ‘यस बलको विशेषता के हो भने हामी धेरै गोल हेर्न चाहन्छौं, त्यसैले निर्माताहरूले पनि गोलको सम्भावना बढाउने गरी बल डिजाइन गर्छन्।’
यो विश्वकपमा वास्तवमै गोलको वर्षा भएको छ। पेनाल्टी क्षेत्रबाहिरबाट हालसम्म २० गोल भएका छन्, जुन सन् २०२२ को विश्वकपको सम्पूर्ण समूह चरणमा भएका गोलभन्दा दोब्बर हो।
खेलको विश्लेषण गर्ने संस्था ओप्टाका अनुसार गोलतर्फ डोर्याउने खेलाडी वा गोलरक्षकका गल्तीहरूको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ।
अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको यस विश्वकपमा हालसम्म ११ वटा यस्ता गल्ती भएका छन्, जुन पछिल्ला सात विश्वकपका समूह चरणहरूमध्ये कुनै पनि संस्करणभन्दा बढी हो।
यद्यपि प्रतियोगिता विस्तार गरिएकाले यस चरणसम्म छ खेल बढी खेलिएका छन्, त्यसलाई ध्यानमा राख्दा पनि यो वृद्धि उल्लेखनीय मानिएको छ।
जो हार्टले ले भने, ‘उच्च स्तरको फुटबलमा गोलरक्षकले बल छोएर पनि त्यो गोलभित्र गएको दृश्य तपाईं कति पटक देख्नुहुन्छ ? धेरै विरलै। किनभने उनीहरू यति दक्ष हुन्छन् कि बलमा सम्पर्क भएपछि त्यसलाई गोलपोस्ट बाहिर मोड्न सफल हुन्छन्। तर यस प्रतियोगितामा मैले देखिरहेको छु कि गोलरक्षकहरूले काँधभन्दा माथिको उचाइमा बल छोए पनि त्यसलाई गोल हुनबाट रोक्न सकिरहेका छैनन्। त्यसैले अवश्य पनि केही न केही फरक भइरहेको छ।’
एडिडासले उक्त बलको विकास गर्न करिब साढे तीन वर्ष खर्चिएको थियो र यसको गुणस्तर तथा प्रदर्शन सुनिश्चित गर्न अनुमानित ३०० वटा प्रयोगशाला परीक्षण सम्पन्न गरेको थियो।
डिजाइनरहरूले विश्वकपका १६ आयोजक सहरमध्ये सात सहरमा समेत यस बलको परीक्षण गरेका थिए, ताकि विभिन्न मौसम तथा वातावरणीय अवस्थाहरूमा पनि यसको प्रदर्शन सन्तोषजनक रहोस्।
सार्वजनिक रूपमा बल प्रस्तुत गर्दा, एडिडासले यसमा प्रयोग गरिएको चार प्यानल संरचना विश्वकपको इतिहासमै सबैभन्दा कम प्यानल भएको डिजाइनलाई विशेष रूपमा उल्लेख गरेको थियो। कम्पनीका अनुसार, यसमा समावेश गरिएका जानाजानी गहिरा सिम, रणनीतिक रूपमा राखिएका डिबोस्ड रेखाहरू, तथा इम्बोस्ड देशका प्रतीकहरू उत्कृष्ट प्रदर्शनका लागि डिजाइन गरिएका हुन्।
एडिडासका अनुसार, यी विशेषताहरूले बलको सतहलाई यस्तो बनाउँछन् कि हावामा यात्रा गर्दा आवश्यक र समान रूपमा वितरित हावाको प्रतिरोध उत्पन्न हुन्छ, जसले बललाई उडानका क्रममा उत्कृष्ट स्थिरता प्रदान गर्छ।
कम्पनीले इम्बोस्ड आइकनले बल ड्रिबल गर्दा वा प्रहार गर्दा, विशेषगरी वर्षा वा आर्द्र मौसममा, बलमा थप राम्रो पकड प्रदान गरी प्रदर्शनलाई अझ प्रभावकारी बनाउँछने समेत दाबी गरेको छ ।
यद्यपि केही खेलाडीहरूले यस बलसँग छिट्टै आफूलाई अनुकूल बनाउन सफल भए, पूर्व गोलरक्षक जो हार्टले भने धेरै गोलरक्षकहरूले विशेषगरी कर्भ नहुने प्रहारहरूमा बलको गति, समय र उडानको दिशा सही रूपमा अनुमान गर्न कठिनाइ भोगेको उल्लेख गरेका छन्।

