काठमाण्डौ । एर्लिङ हालान्डले खेलको ८६औँ मिनेटमा निर्णायक गोल गर्दै नर्वेलाई फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुर्याएका छन्। डलास स्टेडियममा मंगलबार भएको रोमाञ्चक खेलमा नर्वेले आइभोरी कोस्टलाई २–१ ले पराजित गर्दै अर्को चरणमा स्थान सुरक्षित गरेको हो।
नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले उत्कृष्ट कर्लिङ प्रहारमार्फत पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। कप्तान मार्टिन ओडेगार्डको पासलाई सदुपयोग गर्दै नुसाले आइभोरी कोस्टका गोलरक्षक याहिया फोफानालाई झुक्याउँदै आकर्षक गोल गरेका थिए।
दोस्रो हाफमा खेलमा फर्किएको आइभोरी कोस्टले ७४औँ मिनेटमा अमाद डियालोको शानदार व्यक्तिगत प्रयासमा बराबरी गोल गर्यो। मैदान प्रवेश गरेको केही समयमै डियालोले निकोलस पेपेसँग उत्कृष्ट समन्वय गर्दै दुई डिफेन्डरलाई छलाएर बललाई जाली चुमाएका थिए।
बराबरीपछि दुवै टोलीले जितका लागि आक्रामक खेल प्रस्तुत गरे पनि अन्तिम समयमा हालान्डले आफ्नो टोलीलाई निराश हुन दिएनन्। ओस्कार बोबको पहलमा प्याट्रिक बर्गले दिएको पासलाई हालान्डले सहज रूपमा गोलमा परिणत गर्दै नर्वेलाई २–१ को महत्त्वपूर्ण जित दिलाए। यो प्रतियोगितामा हालान्डको पाँचौँ गोल पनि हो।
इन्जुरी समयमा अमाद डियालोको फ्रिकिकलाई गोलरक्षक ओर्यान नाइलान्डले उत्कृष्ट बचाउ गरेपछि नर्वेले आफ्नो अग्रता कायम राख्दै अन्तिम १६ मा स्थान बनायो। यस जितसँगै नर्वेले अब आगामी चरणमा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ।

