काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले मंगलबार नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई भेटेर ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
इप्पानले २०८० जेठयता एक–दुई कम्पनीबाहेक अधिकांश जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनको अनुमति नदिइएको भन्दै प्रक्रिया छिटो र सहज बनाउन आग्रह गरेको हो ।
निर्माणाधीन करिब ४ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीहरूले समयमै आईपीओ जारी गर्न नपाउँदा वित्तीय व्यवस्थापनमा समस्या देखिएको इप्पानको भनाई छ ।
बैंकहरूले ऋण चुक्ता गर्न निरन्तर ताकेता गरिरहेका कारण आयोजनाहरू थप दबाबमा परेको इप्पानले जनाएको छ ।
हाल करिब तीन दर्जन कम्पनीका आईपीओ तथा एक दर्जन कम्पनीका हकप्रद सेयर निष्कासनसम्बन्धी निवेदन सेबोनमा विचाराधीन रहेको जनाएको छ ।
त्यसैगरी, सर्वसाधारण र प्रवद्र्धकलाई छुट्टाछुट्टै आइजीन प्रदान गर्ने व्यवस्था लागू भएयता संस्थापक तथा अन्य समूह (प्रमोटर) सेयरधनीका सेयर अझै अभौतिकीकरण हुन नसकेको विषय पनि इप्पानले ध्यानाकर्षण गराएको छ ।
इप्पानले आवश्यक सबै विवरण प्राप्त भएको मितिले एक महिनाभित्र सेयर निष्कासनको अनुमति दिने व्यवस्था गर्न तथा हालको लक–इन अवधि घटाएर १८ महिना कायम गर्न सेबोनसँग माग गरेको छ ।

