काठमाण्डौ। नेपाल बीमा प्राधिकरणले बीमाको दायित्व निर्धारण तथा दाबी भुक्तानीका क्रममा कुनै अनियमितता, लापरबाही वा कानूनविपरीत गतिविधि भएको महसुस भए प्रमाणसहित उजुरी पेश गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्राधिकरणका अनुसार केही बीमक, बीमकका कर्मचारी तथा बीमा सर्भेयरले प्रचलित बीमा कानुन, नियामकीय व्यवस्था तथा व्यावसायिक आचारसंहिता विपरीत कार्य गरेको भन्ने विषयमा विभिन्न गुनासा प्राप्त भइरहेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै आवश्यक प्रमाणसहित उजुरी पेश गर्न सार्वजनिक सूचना जारी गरिएको हो।
प्राधिकरणले कुनै बीमक, बीमकका कर्मचारी, बीमा सर्भेयर वा अन्य सम्बन्धित पक्षबाट गलत विवरण तयार गरिएको, तथ्य लुकाइएको, तथ्य तोडमोड गरिएको, पक्षपातपूर्ण मूल्याङ्कन गरिएको, अनुचित लाभ लिएको वा अन्य कुनै कानुनविपरीत कार्य भएको पाइएमा सम्बन्धित व्यक्तिविरुद्ध बीमा ऐन, २०७९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।
उजुरी दर्ता गर्दा उजुरीकर्ताले आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर, सम्बन्धित बीमा कम्पनीको नाम, समस्याको स्पष्ट विवरण, बीमा दाबी नम्बर, बीमालेख नम्बर तथा दाबी पुष्टि गर्ने कागजात, फोटो, भिडियो वा अन्य प्रमाण संलग्न गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
उजुरी प्रत्यक्ष रूपमा ललितपुर महानगरपालिका–१०, कुपण्डोलस्थित नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालयको दर्ता शाखामा पेश गर्न सकिनेछ। साथै [email protected] वा [email protected] इमेलमार्फत तथा हुलाकमार्फत पनि उजुरी पठाउन सकिने व्यवस्था गरिएको छ।
प्राधिकरणले प्राप्त उजुरी र त्यससँग सम्बन्धित प्रमाणहरूको गोपनीयता कायम राखिने उल्लेख गर्दै बीमा ऐन, २०७९ तथा अन्य प्रचलित कानूनबमोजिम अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।

