काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन शाहले विधि र प्रक्रियाअनुसार काम गर्दै परिणाम देखाउन निर्देशन दिएको बताएका छन्।
बिहीबार आन्तरिक राजस्व विभागले आयोजना गरेको देशभरका कर अधिकृतहरूको भेलालाई सम्बोधन गर्दै वाग्लेले प्रधानमन्त्रीको चासो व्यक्तिभन्दा पनि कामको प्रकृति र त्यसबाट प्राप्त हुने नतिजामा रहेको बताए।
‘प्रधानमन्त्रीज्यूले बारम्बार भन्नुभएको छ— कसलाई ल्याउने वा कसलाई राख्ने भन्ने मेरो व्यक्तिगत चासो होइन, नतिजा आउनुपर्छ,’ वाग्लेले भने, ‘तपाईंहरू आफ्नो विधि र प्रक्रियाअनुसार काम गर्नुहोस् भन्नुभएको छ। मैले पनि यही भावनाअनुसार मन्त्रालयमा काम गरिरहेको छु।’
उनले कर्मचारीको सरुवा, बढुवा तथा नियुक्तिमा राजनीतिक पहुँच, शक्ति केन्द्रको दबाब वा सिफारिस स्वीकार नगर्ने स्पष्ट पारे। योग्यता, क्षमता र निष्पक्ष मूल्याङ्कनका आधारमा मात्रै निर्णय गरिने उनको भनाइ छ।
विगतमा सरुवा तथा बढुवाका लागि राजनीतिक नेता, दल वा गुटको सहारा लिने प्रवृत्तिले कर्मचारीको समय र ऊर्जा नष्ट गरेको भन्दै उनले अब त्यस्तो अभ्यासलाई निरुत्साहित गरिने बताए।
‘कसैको आफन्त, नातेदार वा नेताको सिफारिसका आधारमा निर्णय हुने छैन,’ उनले भने, ‘कसैले दबाब दिन खोजे त्यसको परिणाम उल्टो हुन सक्छ।’
अर्थमन्त्री वाग्लेले आफूले गरेका नियुक्ति पनि योग्यता र निष्पक्ष मूल्याङ्कनका आधारमा गरिएको दाबी गरे। नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्तिको उदाहरण दिँदै उनले धेरैको लबिङ भए पनि लबिङ नगर्ने योग्य व्यक्तिलाई नियुक्त गरिएको बताए।
राजस्व प्रशासन सुधार तथा कर्मचारीको मनोबल बढाउन आफू देशभरका भन्सार र कर कार्यालयको स्थलगत अनुगमनमा जाने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
कर्मचारीका समस्या, चुनौती र गुनासा सुन्न आफू तयार रहेको उल्लेख गर्दै वाग्लेले कुनै सुझाव वा समस्या भए सिधै मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरे।
‘हाम्रो प्राथमिकता व्यक्ति होइन, नतिजा हो,’ उनले भने, ‘कुनै स्थानमा अनियमितता वा बदमासी भएको छ भने प्रमाणसहित जानकारी गराउनुहोस्।’
उनले प्रणाली सुधार, सुशासन प्रवर्द्धन र राजस्व प्रशासनलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।