काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग प्रदेशको विकास, स्थानीय समस्या र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार भएको भेटमा सांसदहरूले निर्वाचन क्षेत्रको स्थलगत भ्रमणका क्रममा देखिएका समस्या तथा अलपत्र र निर्माणाधीन आयोजनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका हुन्।
सांसदहरूले गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन तथा मेडिकल शिक्षा सुरु गर्ने विषयलाई प्राथमिकताका साथ उठाएका छन्। त्यसैगरी, धनगढी–खुटिया–दिपायल द्रुतमार्ग, सेती लोकमार्ग, महाकाली करिडोर, हुलाकी सडक र प्रदेशका विभिन्न क्षेत्रमा विद्युतीकरण विस्तार गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
कैलाली र कञ्चनपुरमा गम्भीर बन्दै गएको छाडा चौपाया समस्या समाधान, सडक दुर्घटना न्यूनीकरण, नदी कटान नियन्त्रण तथा आवश्यक स्थानमा तटबन्ध निर्माणका विषय पनि छलफलमा उठेका छन्।
सांसदहरूले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र पश्चिम सेती जलविद्युत् आयोजनालाई तीव्रताका साथ अघि बढाउनुपर्ने बताएका छन्। भन्सारसँग सम्बन्धित समस्या, आरक्षपीडितको व्यवस्थापन तथा अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ।
त्यस्तै, किसानको धान खरिद–बिक्री व्यवस्थित गर्नुपर्ने, कृषि उपजको उचित मूल्य सुनिश्चित गर्नुपर्ने तथा दोधारा–चाँदनी क्षेत्रमा भइरहेको नदी कटान रोक्न तत्काल पहल गर्नुपर्ने माग सांसदहरूले राखेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती उपलब्धिबारे संसद्मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता जनाएका छन्।
भेटमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायत सहभागी थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।