काठमाण्डौ । नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालबीच लुम्बिनी प्रदेशको सत्ता समीकरणलाई लिएर दुई बुँदे सहमति भएको छ। सहमतिसँगै मसाल निकट राष्ट्रिय जनमोर्चालाई लुम्बिनी प्रदेश सरकारमा सहभागी गराउने बाटो खुलेको छ।
बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
तीन दलबीच भएको सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन तथा प्रदेशको विकास निर्माणका काममा सहकार्य गर्ने उल्लेख छ।
लुम्बिनी प्रदेशसभामा नेकपा मसाल निकट राष्ट्रिय जनमोर्चाका एक सांसद छन्। पछिल्लो सत्ता समीकरणमा सरकारलाई बहुमत पुर्याउन थप सांसदको समर्थन आवश्यक देखिएका बेला मसालसँग भएको यो सहमति राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।
दोस्रो बुँदामा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा तथा प्रतिगमनविरुद्धको आन्दोलनमा तीन दलबीच सहकार्य गर्ने उल्लेख गरिएको छ।
यसअघि एमाले र नेकपाबीच गत साउन ९ गते प्रदेश सरकारहरूमा सत्ता सहकार्य गर्ने सहमति भएको थियो। उक्त सहमतिपछि विभिन्न प्रदेशमा सत्ता समीकरण परिवर्तन गर्ने प्रक्रिया अघि बढिरहेको छ।
लुम्बिनीमा एमालेले मुख्यमन्त्री चेतनारायण आचार्यलाई नै निरन्तरता दिने तयारी गरेको छ। प्रदेशसभामा बहुमत सुनिश्चित गर्न थप दलको समर्थन आवश्यक परिरहेका बेला मसालसँग भएको दुई बुँदे सहमतिले सरकारलाई आवश्यक अंकगणित जुटाउन सहज बनाउने देखिएको छ।
यससँगै लुम्बिनीको सत्ता समीकरणमा राष्ट्रिय जनमोर्चाको एक सांसद निर्णायक भूमिकामा देखिने सम्भावना बढेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।