काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत २ अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क भित्र्याएका छन् । वैदेशिक रोजगार बीमालेख बिक्री गर्दै आएका १० जीवन बीमकले चालु आवको तेस्रो त्रैमाससम्म २ अर्ब २८ करोड ३८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।
जीवन बीमा कम्पनीहरुको यस्तो व्यवसाय गत आवको तुलनामा ७.८९ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत २ अर्ब ४७ करोड ९५ लाख रुपैयाँ प्रिमियम भित्राएका थिए ।
सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये हाल १० कम्पनीले मात्रै यस्तो बीमालेख बिक्री गर्दै आइरहेको छ । जसमा सरकारी मातहतको राष्ट्रिय जीवन बीमा कम्पनी, मेट लाइफ, एलआईसी नेपाल र हिमालयन लाइफ इन्स्योरेन्सले भने यस्तो बीमालेख बिक्री गरेका छैनन् । बाँकी सबै कम्पनीले वैदेशिक रोजगार बीमालेख बिक्री गर्दै आइरहेका छन् ।
वैदेशिक रोजगार बीमालेख बिक्री गर्दै आएका १० कम्पनीमध्ये ६ वटा कम्पनीको यसबाट हुने व्यवसाय गत आवको तुलनामा घट्न पुगेको छ, भने तीन कम्पनीको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । एशियन लाइफ इन्स्योरेन्सले भने चालु आवमा मात्रै यो बीमालेख बिक्री सुरु गरेको छ ।
चालु आवको तेस्रो त्रैमाससम्म वैदेशिक रोजगार बीमालेखमार्फत सर्वाधिक सन नेपाल लाइफ इन्स्योरेन्सले व्यवसाय भित्र्याएको छ । कम्पनीले ५६ करोड ९५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेर पहिलो स्थान कायम गरेको छ ।
त्यस्तै, जीवन बीमा क्षेत्रमा सर्वाधिक व्यवसाय भित्र्याउने नेपाल लाइफले पनि वैदेशिक रोजगार बीमालेखमार्फत ४९ करोड ८ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
यसका साथै आइएमई लाइफले २६ करोड ५३ लाख, एशियन लाइफले २१ करोड ७६ लाख, नेशनल लाइफले २० करोड १६ लाख, सुर्यज्योति लाइफले १६ करोड २५ लाख, सानिमा रिलायन्स लाइफले १५ करोड ७१ लाख, रिलायबल नेपाल लाइफले १३ करोड ६६ लाख, सिटिजन लाइफले ८ करोड ७ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले जम्मा १७ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ ।
गत आवको यसै अवधिसम्मको तुलनामा सर्वाधिक यस्तो व्यवसाय बढाउन नेशनल लाइफ अगाडी रहेको छ । कम्पनीले ९७।१० प्रतिशतले वैदेशिक रोजगार बीमालेखमार्फत प्रिमियम संकलन बढाएको छ । गत आवको चैत मसान्तसम्म यस्तो बीमालेखमार्फत १० करोड २२ लाख रुपैयाँमात्रै बीमाशुल्क संकलन गरेको नेशनल लाइफले चालु आवको तेस्रो त्रैमाससम्म २० करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ ।
त्यस्तै, नेपाल लाइफले पनि ७५.८८ प्रतिशतले यस्तो व्यवसाय बृद्धि गर्न सफल भएको छ । गत आव २७ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको कम्पनीले यस अवधिसम्म ४९ करोड ८ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । त्यस्तै, रिलायबल नेपाल लाइफले पनि ११.८६ प्रतिशतले यस्तो व्यवसाय बढाएको छ ।
गत आवको तुलनामा यस्तो व्यवसाय सर्वाधिक घट्नेमा भने प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको यस्तो व्यवसाय ९१.५० प्रतिशतले घटेको छ ।
त्यस्तै, सुर्यज्योति लाइफको ५५.४६ प्रतिशत, सिटिजन लाइफको ४९.८६ प्रतिशत, सन नेपाल लाइफको ३६.४८ प्रतिशत, आइएमई लाइफको २०.७१ प्रतिशत र सानिमा रिलायन्स लाइफको २०।६६ प्रतिशतले व्यवसाय घटेको छ ।
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेशीने नेपालीको संख्या घट्न पुग्दा जीवन बीमा कम्पनीहरुको यस्तो बीमालेखबाट हुने व्यवसाय घट्न पुगेको जीवन बीमक संघका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ पोषकराज पौडेलले बताए ।
नेपाल राष्ट्र बैंकको चालु आवको आठ महिनाको तथ्याङ्कअनुसार वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालको संख्या २ लाख ८६ हजार ९३२ रहेको छ । यो संख्या गत आवको तुलनामा १८.४३ प्रतिशतले कम हो । गत आवमा यस्तो संख्या ३ लाख ५१ हजार ७६१ थियो ।
त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या समेत ४.३० प्रतिशतले घटेको छ । गत आवको ८ महिनामा पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९२ हजार ५५९ रहेकोमा चालु आवको यस अवधिसम्म जम्मा १ लाख ८४ हजार २७८ मात्रै रहेको छ ।


                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                