काठमाण्डौ । पछिल्लो समय पूँजीबजारमा देखिएको निरन्तर गिरावटप्रति सेयर लगानीकर्ताहरू असन्तुष्ट देखिएका छन् । बजार घट्दै जाँदा लगानीकर्ताले सरकारको आर्थिक नीति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भूमिकाप्रति समेत प्रश्न उठाउन थालेका छन् ।
सेयरबजारमा अपेक्षित सुधार आउन नसकेको भन्दै लगानीकर्ताहरूले सरकारबाट बजारको मनोबल बढाउने ठोस पहल हुनुपर्ने माग गरेका छन्। विशेषगरी बजारलाई प्रभावित पार्ने नीतिगत विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने उनीहरूको भनाइ छ ।
घण्टी घरमा नागरिक, नीति र नेतृत्व कार्यक्रममा सेयर लगानीकर्ता उमेशराज सिलवालले अर्थमन्त्री वाग्लेलाई नयाँ सरकारको परिक्षण कालमा सेयरबजार ४०० अंकले घट्दा लगानीकर्ताको करोडौं रकम डुबेको अवगत गराएका छन् ।
‘सरकार बनेको ४ महिनामा बजार ४०० अंकले घटेको छ, तर सरकार निरिह भएर बसेको छ, लगानीकर्ताहरुको ठूलो रकम डुब्दा सरकार टुलुटुल हेरेर बसेको छ’ उनले भने, ‘अर्थमन्त्रीले पूँजीबजार सुधारका लागि ठूला–ठूला कुरा गरेपनि कार्यान्वयन पक्षमा भने निकै कमजोर देखिएको छ, बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबार गर्ने कुरामा राष्ट्र बैंकसँग किन समन्वय भएन ?’
साथै उनले अहिलेको सरकार पूँजीबजार सुधारको लागि पोलिसी बनाउने पक्षमा निकै कमजोर देखिएको आलोचना समेत गरेका छन् । अहिलेको सरकारले आम लगानीकर्ताको गुनासो नसुन्ने हो भने आगामी दिनमा पहिलेका दलहरुको भन्दा हविगत अवस्था आउन सक्ने पनि उनले चेतावनी दिएका छन् ।
साथै नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले पनि पूँजीबजारको संवेदनशीलतालाई अर्थमन्त्रीले नबुझेको महसुस व्यक्त गरेका छन् । ‘पूँजीबजार केवल सेयर कारोबारको विषय मात्र होइन, लाखौं लगानीकर्र्ता, देशको अर्थतन्त्र र सरकारप्रतिको विश्वाससँग जोडिएको संवेदनशील क्षेत्र हो’ उनले भने, ‘बजारसँग अभिव्यक्ति दिदा वा नीति निर्माण गर्दा थप विवेक र संवेदनशीलता अपनाउनु राम्रो होला ।’
साथै उनले अर्थमन्त्रीलाई सम्बोधन गर्दै ‘कुनै लगानीर्तालाई तपाईलाई बजार पम्प एण्ड डम्प गरिदिन अनुरोध गरेको हो र ? भनेर प्रश्न समेत गरेका छन् । ‘पूँजीबजार ध्वस्त भयो भने एकैपटकमा व्यक्ति, देशको अर्थतन्त्र, देशप्रतिको विश्वास अनि सरकार नै ध्वस्त हुन्छ’ उनले भने ।
यसका साथै सेयर लगानीकर्ता खोमनाथ प्याकुरेलले पनि पूँजीबजारको पछिल्लो अवस्थाप्रति असन्तुष्टि जनाउँदै अर्थमन्त्रीप्रति कटाक्ष प्रहार गरेका छन् । उनले बजारलाई असर गरिरहेका वास्तविक कारण पहिचान गरेर मात्रै आफ्नो धारणा सार्वजनिक गर्न समेत आग्रह गरेका छन् ।
‘पहिला के–के कारणले बजारलाई असर गरिरहेको छ, त्यो बुझ्ने कोसिस गर्नुहोस अनि मात्रै जवाफ दिनुहोस्’ उनले भने, ‘पुँजी बजारलाई सुधार गर्न समस्या पहिचान, सरोकारवालासँगको संवाद र तथ्यमा आधारित नीति आवश्यक हुन्छ, समस्या नबुझी गरिने निर्णय तथा अभिव्यक्तिले बजारमा थप नकारात्मक असर पार्छ ।’
साथै उनले सरकारलाई समयमै सचेत हुन आग्रह गर्दै व्यंग्यात्मक रूपमा भनेका छन्, ‘यस्तो पाराले त एसियाको उत्कृष्ट सेयर मार्केट होइन, सुडानको माछा बजारजस्तो हुन्छ ।’
पूँजीबजारप्रति लगानीकर्ताको विश्वास कायम राख्न सरकार र नियामक निकायले बजारको संवेदनशीलता बुझेर समयमै आवश्यक कदम चाल्नुपर्ने उनको जोड छ ।
लगानीकर्ताहरूका अनुसार पूँजीबजारको स्थायित्वका लागि सरकार, नेपाल राष्ट्र बैंक तथा नियामक निकायबीच प्रभावकारी समन्वय आवश्यक छ । बजारमा तरलता, ब्याजदर, लगानीकर्ताको मनोविज्ञान तथा नीतिगत अनिश्चितताले समेत प्रभाव पारिरहेको उनीहरूको बुझाइ छ ।
यता, अर्थमन्त्री वाग्लेले भने पूँजीबजारलाई सरकारले बेवास्ता नगरेको बताउँदै अर्थतन्त्रका समग्र सूचकमा सुधार ल्याउनेतर्फ सरकार केन्द्रित रहेको धारणा राख्दै आएका छन् ।


प्रतिक्रिया
1 प्रतिक्रियाN***
ordainary investorshave been pushed to the brink of death due to the continuous decline in the stock market and their investments have almost been wiped out.therefore the stock market should be closed until the situation improves as promised by the finance minister.
26 मिनेट अगाडी