काठमाण्डौ । भोटेकोशी नदीमा आएको भीषण बाढीले मुलुकको ऊर्जा क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण सञ्चालनमा रहेका ११ वटा जलविद्युत् आयोजना प्रभावित हुँदा सयौं मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन हुने करिब ४०५ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ। त्यस्तै प्राधिकरणअन्तर्गतका करिब २५ मेगावाट क्षमताका सोलार आयोजना समेत प्रभावित भएका छन्। यसरी जलविद्युत् र सौर्य ऊर्जा गरी कुल ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको प्राधिकरणले जनाएको छ।
बाढीबाट सबैभन्दा ठूलो क्षति १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा पुगेको छ। त्यस्तै ७८ मेगावाट क्षमताको सालासुंगी (सान्जेन), १४.८ मेगावाटको अपर सान्जेन, ४२.५ मेगावाटको सान्जेन तथा २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना पनि प्रभावित भएका छन्।
यसैगरी २० मेगावाटको लाङटाङ, ६० मेगावाटको अपर त्रिशूली थ्री–ए, १४.८ मेगावाटको अपर मैलुङ, ५ मेगावाटको मैलुङ, २४ मेगावाटको त्रिशूली र १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् आयोजनामा समेत बाढीले क्षति पुर्याएको छ।
विद्युत् उत्पादन भइरहेका आयोजनामात्र होइन, निर्माणाधीन ठूला जलविद्युत् आयोजना पनि बाढीको चपेटामा परेका छन्। निर्माण चरणमा रहेको माथिल्लो त्रिशूली–१ तथा १२० मेगावाट क्षमताको रसुवा–भोटेकोशी जलविद्युत् आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण आएको छ।
बाढीले विद्युत् गृह, प्रसारण संरचना, पहुँचमार्ग तथा अन्य भौतिक पूर्वाधारमा कति क्षति पुर्याएको छ भन्ने विस्तृत विवरण भने संकलनकै क्रममा छ।
एकैपटक ठूलो परिमाणको विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएपछि राष्ट्रिय विद्युत् प्रणालीको व्यवस्थापनमा समेत दबाब पर्ने देखिएको छ। प्रभावित आयोजनाहरू पुनः सञ्चालनमा ल्याउन लाग्ने समय र क्षतिको वास्तविक परिमाण भने प्राविधिक परीक्षणपछि मात्रै स्पष्ट हुने प्राधिकरणले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।