काठमाडौं । एनसेलले बाढी प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवाको अवधि थप सात दिन लम्ब्याएको छ।
सञ्चार सम्पर्कसँगै खोज, उद्धार तथा राहत वितरणमा सहजीकरण गर्ने उद्देश्यले शनिबारदेखि लागू हुने गरी निःशुल्क सेवाको अवधि एक साता थपिएको कम्पनीले जनाएको छ।
यसअघि एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अननेट भ्वाइस कल र १०० वटा एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो। बुधबारदेखि उपलब्ध गराइएको उक्त सुविधाको अवधि शुक्रबार सकिँदै थियो।
विपद्का बेला प्रभावित नागरिकलाई परिवार, आफन्त तथा उद्धार र राहतमा खटिएका टोलीसँग सम्पर्कमा रहन सहज बनाउने उद्देश्यले निःशुल्क सेवा निरन्तरता दिइएको एनसेलले जनाएको छ।
एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले कम्पनीको योगदानले प्रभावित समुदायलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत टोलीलाई आवश्यक समन्वय गर्न सघाउने विश्वास व्यक्त गरे।
‘यस कठिन समयमा आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु हामी सबैको जिम्मेवारी हो,’ उनले भने।
सञ्चालनमा आए १८ टावर
एनसेलले बाढीका कारण अवरुद्ध भएका आफ्ना १८ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको छ। प्रभावित अन्य नौवटा टावर सञ्चालनमा ल्याउन प्राविधिक टोलीले काम गरिरहेको कम्पनीले जनाएको छ।
मोबाइल टावर पुनः सञ्चालनसँगै प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क क्रमशः सहज हुँदै गएको छ। यसले आपत्कालीन सूचना आदानप्रदान तथा खोज, उद्धार र राहत वितरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एनसेल फाउन्डेसनले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोगसमेत प्रदान गरेको थियो।
कम्पनीले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सम्बन्धित निकायबाट जारी सुरक्षा निर्देशन पालना गर्न आग्रह गर्दै एसएमएस तथा सामाजिक सञ्जालमार्फत आवश्यक सूचना प्रवाह गरिरहेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।