काठमाण्डौ । नेपाली कांग्रेसले बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले उक्त रकम सरकारी राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
कांग्रेसले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार र राहत कार्यलाई थप तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ। विशेषगरी सुरुङमा फसेका नागरिकको उद्धारलाई उच्च प्राथमिकतामा राखेर परिणाममुखी ढंगले काम गर्नुपर्ने पार्टीको जोड छ।
प्रवक्ता चालिसेले स्वदेशी जनशक्ति, प्रविधि वा विशेषज्ञताले मात्र उद्धार सम्भव नहुने अवस्था आए अन्तर्राष्ट्रिय स्तरका विज्ञको सहयोग लिन समेत सरकार हिचकिचाउन नहुने बताए।
कांग्रेसले राहत वितरण प्रभावकारी बनाउन स्थानीय तहको भूमिका बलियो बनाउनुपर्ने सुझाव पनि दिएको छ। प्रभावित नागरिकको वास्तविक अवस्था र आवश्यकता स्थानीय सरकारलाई बढी जानकारी हुने भएकाले राहत वितरणमा स्थानीय तहलाई पर्याप्त जिम्मेवारी दिनुपर्ने पार्टीको धारणा छ।
पीडितसम्म राहत तत्काल पुर्याउने र वितरणमा दोहोरोपन वा ढिलाइ हुन नदिने गरी समन्वय गर्न पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।
प्रवक्ता चालिसेका अनुसार रसुवा र नुवाकोटमा बाढी आउँदा स्थानीय नागरिक मात्र नभई पर्यटन, व्यापार तथा अन्य कामका सिलसिलामा त्यहाँ पुगेका विभिन्न जिल्लाका नागरिकसमेत प्रभावित भएका छन्।
त्यस्ता व्यक्तिको खोजी, उद्धार तथा सुरक्षामा पनि समान प्राथमिकता दिनुपर्ने कांग्रेसले जनाएको छ।
भोटेकोशी बाढीपछि राहत, खोज तथा पुनर्स्थापनाका लागि सरकारी कोषमा विभिन्न राजनीतिक दल, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, व्यावसायिक घराना र अन्य संघसंस्थाबाट सहयोग घोषणा हुने क्रम जारी छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।