काठमाडौँ। चीन सरकारले नेपालका बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि साढे ३३ करोड रुपैयाँभन्दा बढी नगद सहयोग हस्तान्तरण गरेको छ।
नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चीन सरकारले घोषणा गरेको २० लाख अमेरिकी डलर अर्थात् करिब ३० करोड ६० लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन्।
यससँगै चिनियाँ रेडक्रस सोसाइटीले उपलब्ध गराएको दुई लाख अमेरिकी डलर अर्थात् करिब तीन करोड ६ लाख रुपैयाँ पनि हस्तान्तरण गरिएको छ। दुवै सहयोग जोड्दा चीनबाट प्राप्त नगद सहायता करिब ३३ करोड ६६ लाख रुपैयाँ पुगेको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ।
सहायता हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको भीषण प्रकोपका कारण नेपाल र चीन दुवैले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको बताइन्। साझा विपत्तिको सामना दुवै देशले मिलेर गर्ने प्रतिबद्धता जनाउँदै उनले नेपालको कठिन घडीमा चीन सधैँ साथमा रहेको सन्देश चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले पठाएको जानकारी दिइन्।
राजदूतका अनुसार आइतबार मात्रै दुईवटा चिनियाँ जहाजमार्फत ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटलगायत राहत सामग्री काठमाडौँ ल्याइएको छ। चीनले नेपाललाई आवश्यकताअनुसार थप सहायता निरन्तर उपलब्ध गराउनेसमेत उनले बताइन्।
रसुवाको बाढीपछि चीनतर्फ रोकिएका नेपाली नागरिकलाई मुस्ताङको कोरला नाका हुँदै स्वदेश फर्काउन पहल भइरहेको जानकारी पनि राजदूत माओमिङले अर्थमन्त्रीलाई दिइन्।
जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ हेलिकप्टरसहित दक्ष जनशक्ति नेपाल आइसकेको उल्लेख गर्दै उनले थप उद्धार प्राविधिक पनि आइतबार नेपाल आइपुगेको बताइन्। नेपाल सरकारले माग गरेको ठूलो परिमाणमा सामग्री बोक्न सक्ने ड्रोन नेपाल ल्याउन चीन सरकारले तीव्र गतिमा काम गरिरहेको उनको भनाइ थियो।
चीन सरकारको सहायता स्वीकार गर्दै अर्थमन्त्री डा. वाग्लेले अकल्पनीय विपत्तिबाट गुज्रिरहेको नेपाललाई उपलब्ध गराइएको नगद, राहत सामग्री तथा प्राविधिक सहयोगप्रति धन्यवाद व्यक्त गरे।
विपत्तिबाट दुवै मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोरेको उल्लेख गर्दै उनले चीनमा भएको क्षतिप्रति नेपाल सरकारका तर्फबाट दुःख व्यक्त गरे। बाढीमा ज्यान गुमाएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनमा समवेदना पनि प्रकट गरे।
विश्वव्यापी तापक्रम वृद्धिको विनाशकारी प्रभाव हिमालय क्षेत्रमा देखिन थालेको भन्दै अर्थमन्त्री वाग्लेले यस्ता विपत्तिको सामना गर्न नेपाल र चीनबीच अझ बलियो सहकार्य आवश्यक रहेको बताए। बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा पनि चीनबाट थप सहयोग प्राप्त हुने अपेक्षा उनले व्यक्त गरे।
सहायता हस्तान्तरणका क्रममा अर्थमन्त्री वाग्ले र राजदूत माओमिङले बाढीका कारण ज्यान गुमाएका नेपाल र चीनका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारणसमेत गरेका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।