Bizshala
  • आईतवार, भाद्र १४,२०८३ 10:58:12
Bizshala
Global IME Bank Limited

‘यो दुःखमा नेपाल एक्लै छैन’ : मृतकप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको श्रद्धाञ्जली

‘यो दुःखमा नेपाल एक्लै छैन’ : मृतकप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको श्रद्धाञ्जली
New Office

काठमाडौँ। रसुवाको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छियाङले गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाएका नेपाली नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनीहरूले विपत्तिको यस घडीमा नेपाल एक्लै नरहेको र चीन नेपाली जनताको साथमा दृढतापूर्वक उभिएको सन्देशसमेत पठाएका छन्।

नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको भेटमा चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको उक्त सन्देश सुनाएका हुन्।

Bizshala
CG Motors

“बाढीका कारण नेपालमा ज्यान गुमाउनुभएका नागरिकप्रति राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छियाङले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ,” चिनियाँ नेतृत्वको सन्देश सुनाउँदै राजदूत माओमिङले भने, “यो दुःखमा नेपाल एक्लै छैन। चीन नेपाल र नेपाली जनताको साथमा छ।”

उनले विपद्पछिको खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा चीनले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोग निरन्तर रहने प्रतिबद्धता पनि व्यक्त गरे।

सो अवसरमा राजदूत माओमिङले चीन सरकारका तर्फबाट घोषणा गरिएको २० लाख अमेरिकी डलर अर्थात् झन्डै साढे ३० करोड नेपाली रुपैयाँको चेक अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरे। त्यस्तै, चिनियाँ रेडक्रसले उपलब्ध गराएको थप दुई लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड ६ लाख रुपैयाँबराबरको नगद सहयोग पनि हस्तान्तरण गरिएको छ।

यसअनुसार चीन सरकार र चिनियाँ रेडक्रसबाट प्रधानमन्त्री राहत कोषका लागि कुल २२ लाख अमेरिकी डलर अर्थात् करिब साढे ३३ करोड रुपैयाँ सहयोग प्राप्त भएको छ।

सहयोग हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विनाशकारी प्रकोपबाट नेपाल र चीन दुवै प्रभावित भएकाले यसको सामना पनि दुई देशले मिलेर गर्ने बताए। उनले चीनले घोषणा गरेका अन्य राहत तथा सहायता सामग्रीसमेत नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिए।

उनका अनुसार आइतबार मात्रै दुईवटा चिनियाँ जहाजले ५० टन राहत सामग्री काठमाडौँ ल्याएका छन्। ती सामग्रीमा टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट तथा बिस्कुटलगायत अत्यावश्यक सामग्री छन्। आवश्यकताका आधारमा थप सहायता पनि निरन्तर उपलब्ध गराइने उनले बताए।

सुरुङ उद्धारमा चिनियाँ विशेषज्ञ, ठूलो ड्रोन ल्याउने तयारी

रसुवा बाढीपछि जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि चीनले प्राविधिक सहयोगसमेत तीव्र बनाएको छ। राजदूत माओमिङका अनुसार चिनियाँ हेलिकप्टरसहित दक्ष उद्धार जनशक्ति शनिबार नै नेपाल आइपुगेको थियो भने थप विशेषज्ञ प्राविधिकहरू आइतबार नेपाल आएका छन्।

नेपाल सरकारले उद्धार कार्यका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने क्षमताको ड्रोन नेपाल ल्याउन चीन सरकारले द्रुत गतिमा काम गरिरहेको जानकारी पनि उनले अर्थमन्त्री वाग्लेलाई गराए।

त्यस्तै, बाढीपछि चीनतर्फ रोकिएका नेपाली नागरिकलाई मुस्ताङको कोरला नाका हुँदै स्वदेश फर्काउने विषयमा पनि पहल भइरहेको उनले बताए।

नगद सहायता, राहत सामग्री, हेलिकप्टर, प्राविधिक जनशक्ति र विशेष क्षमताको ड्रोनसम्मको सहयोग अघि बढाएको चीनले विपत्तिको यस कठिन घडीमा नेपालसँगको सम्बन्ध केवल कूटनीतिक औपचारिकतामा सीमित नरहेको सन्देश दिएको छ। चिनियाँ नेतृत्वको “नेपाल एक्लै छैन” भन्ने सन्देशसँगै राहत र उद्धारमा देखिएको सक्रियताले दुई छिमेकीबीचको मानवीय सहकार्यलाई थप बलियो बनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.