काठमाण्डौ । एकातिर लगातारको गिरावटबाट थलिएको सेयर बजार, अर्कोतिर भोटेकोशी बाढीले थपेको आर्थिक अनिश्चितता। यी दुई दबाबको बीचमा लगानीकर्ता यतिबेला नाफा खोज्नुभन्दा आफ्नो लगानी जोगाउने चिन्तामा बढी देखिएका छन्।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले जलविद्युत् आयोजना, प्रसारण संरचना, सडक, पुल तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। क्षतिको विस्तृत मूल्यांकन सार्वजनिक भइनसके पनि त्यसबाट जलविद्युत् कम्पनीमा पर्न सक्ने प्रत्यक्ष असर तथा निर्जीवन बीमा र पुनर्बीमा कम्पनीसम्म सर्न सक्ने सम्भावित वित्तीय दायित्वले बजारको मनोविज्ञान खलबल्याएको छ।
यसको प्रभाव मुख्यतः जलविद्युत्, निर्जीवन बीमा र पुनर्बीमा कम्पनीका सेयरमा देखिएको लगानीकर्ताको बुझाइ छ। प्रभावित केही आयोजनाको जोखिमलाई पूरै क्षेत्रसँग जोडेर हेर्ने प्रवृत्तिका कारण क्षति नपुगेका कम्पनीका सेयरसमेत बिक्री दबाबमा परेका छन्।
ठीक उल्टो दृश्य सिमेन्ट तथा निर्माण सामग्रीसम्बन्धी कम्पनीमा देखिएको छ। बाढीपछिको पुनर्निर्माणले सिमेन्टको माग बढाउने अनुमान गर्दै केही लगानीकर्ता त्यतातिर अवसर खोज्न थालेका छन्। तर तत्कालीन मानवीय विपत्तिबीच पुनर्निर्माणबाट हुने सम्भावित व्यावसायिक लाभको अनुमान कति यथार्थपरक हुन्छ भन्ने विषय अझै अनिश्चित छ।
बजार कमजोर बन्दै जाँदा केही समयदेखि सुनसानजस्तै देखिएका ब्रोकर हाउसमा बाढीपछि लगानीकर्ताको उपस्थिति बाक्लिएको छ। तर त्यो उपस्थिति किनबेचको उत्साहभन्दा पनि बजार अब कता जान्छ भन्ने भय, अन्योल र जिज्ञासाबाट निर्देशित देखिन्छ। ब्रोकर हाउसमा भीड बढे पनि कारोबार रकम त्यही अनुपातमा नबढ्नुले यही मनोदशा संकेत गर्छ।
बिजशालाको नियमित स्तम्भ ‘ग्राउन्ड जिरो’अन्तर्गत सोमबार काठमाण्डौका नयाँ बानेश्वर र अनामनगर क्षेत्रका विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको मनोविज्ञान बुझ्दा अधिकांश संवाद बाढी, जलविद्युत् आयोजनाको क्षति, बीमा दायित्व र बजारको सम्भावित गिरावटमै केन्द्रित थियो।
हाइड्रोको क्षतिले बीमा-पुनर्बीमासम्म त्रास, बजार २२ सयमा झर्ने अनुमान
सर्वप्रथम हामी नयाँ बानेश्वरस्थित नागरिक स्टक डिलरको कारोबार कक्षमा पुग्यौँ। बजार खुलेको केही समयमै नेप्से परिसूचक दोहोरो अंकले घटिसकेको थियो। लगानीकर्ताको उपस्थिति विस्तारै बाक्लिँदै थियो, तर स्क्रिनमा फैलिएको रातो रङले उनीहरूको निराशा अझ गाढा बनाइरहेको थियो।
कारोबार कक्षमा अधिकांश लगानीकर्ता भोटेकोशी बाढी र त्यसले जलविद्युत् क्षेत्रमा पुर्याएको क्षतिबारे छलफल गरिरहेका थिए। एउटा कुनामा बसेका दुई महिला लगानीकर्ताको ध्यान भने सिमेन्ट कम्पनीका सेयरमा थियो।
“अब त सिमेन्टतिरै सिफ्ट हुनुपर्ला,” एक महिला लगानीकर्ताले भनिन्, “प्राकृतिक प्रकोपपछि पुनर्निर्माण हुन्छ र त्यसमा सिमेन्ट तथा निर्माण सामग्रीको माग बढ्छ। त्यसैले दुई दिनयता सिमेन्ट कम्पनीका सेयरमा चमक देखिएको हुन सक्छ।”
नजिकै एक पुरुष लगानीकर्ता फोनमा जलविद्युत् कम्पनीका सेयर लगातार घटेकोमा चिन्ता व्यक्त गर्दै थिए।
“बाढीले केही जलविद्युत् आयोजना तहसनहस बनाएको छ। प्रभावित कम्पनी मात्रै घटेको भए सामान्य मान्न सकिन्थ्यो,” उनले भने, “तर अहिले अधिकांश जलविद्युत् कम्पनी घटिरहेका छन्। यसले त पूरै क्षेत्र नै जोखिममा परेको जस्तो मनोविज्ञान बनायो।”
केही समयपछि आएका दुई लगानीकर्ता जलविद्युत्, निर्जीवन बीमा र पुनर्बीमा कम्पनीका सेयरमूल्य नियालिरहेका थिए। तीमध्ये एकले बाढीको जोखिम जलविद्युत् कम्पनीबाट बीमा हुँदै पुनर्बीमासम्म पुग्ने तर्क गरे।
“हाइड्रोमा क्षति भयो भने निर्जीवन बीमा कम्पनीको दायित्व बढ्छ। बीमा कम्पनीले आफ्नो जोखिम पुनर्बीमामार्फत कभर गरेको हुन्छ,” उनले भने, “अन्ततः यसको केही भार पुनर्बीमा कम्पनीसम्म पुग्ने भएकाले बजारमा ती कम्पनीप्रति पनि डर देखिएको हो।”
उनले हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य अझै तल जान सक्ने अनुमान सुनाए। उनीसँगै आएका अर्का लगानीकर्ताले भने व्यापक बिक्री दबाब कायम रहे बजार २२ सयको आसपाससम्म आउन सक्ने आशंका व्यक्त गरे।
यस्ता अनुमान कम्पनीको वास्तविक दाबी दायित्व, बीमा कभरेज, पुनर्बीमा सम्झौता र क्षतिको आधिकारिक मूल्यांकनमा आधारित थिएनन्। तर बजारमा तथ्यभन्दा पहिले डर दौडिने भएकाले लगानीकर्ताको मनोविज्ञानमा त्यसको प्रभाव बलियो देखिन्थ्यो।
हाइड्रोमा क्षति, बीमामा दायित्वको डर-सिमेन्टमा लाभको आशा
बजारको गिरावट रोकिएको थिएन। त्यसपछि हामी अनामनगरस्थित इम्पेरियल सेक्युरिटिजमा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति बाक्लै थियो। स्क्रिनमा बजार हेर्नेभन्दा बाढीले कुन क्षेत्रलाई कति असर पर्ला भन्ने छलफल बढी चलिरहेको थियो।
एक लगानीकर्ताले कारोबार रकम कमजोर रहेकाले बजार छिट्टै २४ सयको तहमा ओर्लिन सक्ने अनुमान गरे।
“बजारमा कारोबार पनि छैन, विश्वास पनि छैन। यही गतिमा घटिरहे २४ सयको लाइनमा आउन धेरै समय लाग्दैन,” उनले भने, “बाढीले चार–पाँचवटा आयोजनामा क्षति पुर्याउँदा पूरै जलविद्युत् क्षेत्र प्रभावित भएको छ। त्यसको दबाब समग्र बजारमै देखिएको छ।”
उनीसँगै बसेका अर्का लगानीकर्ताको बुझाइ भने फरक थियो। उनका अनुसार आयोजनाको क्षति बीमाबाट आंशिक वा पूर्ण रूपमा कभर हुन सक्ने भएकाले तत्कालीन बजार दबाब जलविद्युत् कम्पनीभन्दा निर्जीवन बीमा र पुनर्बीमा कम्पनीमा बढी देखिएको हो।
“हाइड्रोको बीमा गरिएको छ भने क्षतिको दाबी बीमा कम्पनीमा जान्छ,” उनले भने, “त्यसको केही हिस्सा पुनर्बीमा कम्पनीसम्म पुग्न सक्छ। यही अनुमानले आज बीमा र पुनर्बीमाका सेयरमा दबाब बढाएको देखिन्छ।”
तर क्षतिको आकार, बीमालेखका सर्त, कटौतीयोग्य रकम, जोखिम कभरेज र पुनर्बीमाको हिस्सा यकिन नभएसम्म कुन कम्पनीमा कति वित्तीय भार पर्छ भन्ने निष्कर्ष निकाल्न हतार हुन्छ।
छेउमा बसेका अर्का लगानीकर्ता भने बाढीका कारण जलविद्युत् र बीमामा जोखिम बढे पनि सिमेन्ट कम्पनीका लागि पुनर्निर्माणले व्यावसायिक अवसर ल्याउन सक्ने हिसाब गर्दै थिए। अर्थात् एउटै विपत्तिलाई बजारले कतै जोखिम र कतै सम्भावित अवसरका रूपमा मूल्यांकन गर्न थालेको थियो।
लगानीकर्ताको प्रश्न: सरकारले पूँजीबजारको ‘रेस्क्यु’ कसरी गर्छ?
अन्त्यमा हामी अनामनगरस्थित आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उल्लेख्य उपस्थिति थियो। बजार उच्च अंकले घटिसकेको थियो र छलफलको केन्द्रमा फेरि पनि बाढी नै थियो।
एक महिला लगानीकर्ताले सडक तथा पुलमा पुगेको क्षतिले चीनसँगको व्यापार र वस्तु ढुवानीमा पार्न सक्ने असरप्रति चिन्ता व्यक्त गरिन्। रसुवागढी नाका र त्यससँग जोडिएका सडक संरचनामा पुगेको क्षतिले आयात प्रभावित भए त्यसको असर बजार, मूल्य र आपूर्ति शृङ्खलासम्म फैलिन सक्ने उनको बुझाइ थियो।
केही समयपछि स्क्रिनतर्फ हेरिरहेका एक लगानीकर्ताले नेपाल पुनर्बीमा कम्पनीको घट्दो मूल्य देखाउँदै भने, “अब नेपाल रिको सेयर पनि दबाबमा पर्यो। यसरी नै घट्दै गए ६–७ सयसम्म आउन सक्छ। सरकारले बाढीपीडितसँगै समग्र पूँजीबजारको रेस्क्यु कसरी गर्छ होला?”
उनीसँगै बसेका अर्का लगानीकर्ताले बजारको मुख्य समस्या वित्तीय क्षतिभन्दा कमजोर मनोबल भएको तर्क गरे।
“अहिले डरले बजार घटिरहेको छ,” उनले भने, “सरकारले बैंकहरूलाई सहज रूपमा बजारमा कारोबार गर्न दिने र संस्थागत लगानीकर्तालाई सक्रिय बनाउने वातावरण तयार गरे स्थिति क्रमशः सुधारिन सक्छ।”
पछाडितिर बसेका दुई लगानीकर्ताको ध्यान भने फेरि सिमेन्ट कम्पनीमै थियो।
“आज सिमेन्ट राम्रै बढेको छ। पुनर्निर्माण सुरु भएपछि व्यवसाय बढ्छ भन्ने अनुमानले होला, सिमेन्ट कम्पनीले पनि अब हाम्रो पालो भनेजस्तो देखियो,” एक लगानीकर्ताले भने, “तर केही हाइड्रोमा क्षति पुग्यो भन्दैमा सबै जलविद्युत् कम्पनीको सेयर घट्नु चाहिँ स्वाभाविक होइन।”
तथ्य नआउँदै डरको कारोबार
सोमबारका ब्रोकर हाउसमा देखिएको दृश्यले बजारको तत्कालीन मनोदशा स्पष्ट पार्थ्यो—लगानीकर्ता उपस्थित थिए, तर आत्मविश्वास उपस्थित थिएन। उनीहरू कारोबार गर्नभन्दा बढी सम्भावित क्षति, बीमा दायित्व, पुनर्बीमाको जोखिम र बजारको तल्लो विन्दुबारे अनुमान गरिरहेका थिए।
भोटेकोशी बाढीबाट कुन सूचीकृत जलविद्युत् आयोजनामा कति क्षति भयो, ती आयोजनाको बीमा कभरेज कस्तो छ, निर्जीवन बीमा कम्पनीले कति दाबी भुक्तानी गर्नुपर्छ र त्यसको कति हिस्सा पुनर्बीमामा हस्तान्तरण हुन्छ भन्ने आधिकारिक तथ्य अझै स्पष्ट भइसकेको छैन। तर बजारले तथ्य आउनुअघि नै सम्भावित जोखिमको मूल्य निर्धारण गर्न थालेको छ।
यही कारण प्रभावित आयोजना र सुरक्षित आयोजना, ठूलो दायित्व पर्ने बीमा कम्पनी र न्यून जोखिम भएका कम्पनीबीच भेद नगरी समग्र क्षेत्र बेच्ने प्रवृत्ति देखिएको छ। अहिले बजारमा बाढीको वास्तविक वित्तीय क्षतिभन्दा त्यसले जन्माएको भयको कारोबार ठूलो बनेको छ।
सिमेन्ट कम्पनीमा देखिएको उत्साह पनि पुनर्निर्माणको अपेक्षामा आधारित हो। तर पुनर्निर्माण कहिले सुरु हुन्छ, त्यसको आकार कति हुन्छ र कुन कम्पनीले कति व्यावसायिक लाभ पाउँछ भन्ने अझै निश्चित छैन।
अहिलेको बजारमा तथ्य थोरै छन्, अनुमान धेरै। क्षतिको भेल भोटेकोशीमा बगे पनि त्यसको त्रास भने दलालको कारोबार कक्ष हुँदै सेयर बजारका स्क्रिनसम्म आइपुगेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।