काठमाण्डौ । भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजना तथा सम्बन्धित परियोजनामा कार्यरत ठूलो संख्याका कर्मचारी अझै सम्पर्कमा आउन सकेका छैनन्। सरकारी विवरणअनुसार प्रभावित १२ आयोजनामा कार्यरत ८९८ कर्मचारी सम्पर्कविहीन छन्, जसमध्ये कम्तीमा २०४ जना विदेशी नागरिक छन्।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार यी २०४ जना नेपालमा वैध वर्क परमिट लिएर काम गरिरहेका विदेशी हुन्। वर्क परमिट नवीकरणको प्रक्रियामा रहेका, जरिबाना तिरेर काम गरिरहेका वा विभागको अभिलेखमा अद्यावधिक हुन बाँकी विदेशी कामदार भने यो तथ्यांकमा समावेश छैनन्।
विभागका प्रवक्ता मणिनाथ गोपका अनुसार सरकारी रेकर्डमा देखिएको २०४ संख्या न्यूनतम तथ्यांक मात्रै हो। बाढी प्रभावित आयोजनामा काम गरिरहेका विदेशीको वास्तविक संख्या यसभन्दा बढी हुन सक्ने विभागको अनुमान छ।
अपर त्रिशूली–१ मा मात्रै १२१ चिनियाँ सम्पर्कविहीन
सम्पर्कविहीन विदेशीमध्ये सबैभन्दा ठूलो संख्या अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत चिनियाँ कामदारको छ।
पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइनाअन्तर्गत उक्त आयोजनामा काम गर्न १२१ चिनियाँ नागरिकले विभागबाट वर्क परमिट लिएका थिए। विभागको पछिल्लो विवरणअनुसार ती सबैसँग हालसम्म सम्पर्क स्थापित भएको जानकारी आएको छैन।
अपर त्रिशूली–१ आयोजनामा नेपालीसहित करिब १ हजार २०० जना कार्यरत रहेको र तीमध्ये ५५७ जना अझै सम्पर्कविहीन रहेको विवरण छ।
त्यस्तै, डोसान इनर्जी कम्पनीअन्तर्गत सोही आयोजनामा काम गर्ने २६ विदेशीमध्ये तीन जना बिदामा रहेको जानकारी विभागले पाएको छ। बाँकी २३ जना भने सम्पर्कमा नरहेको जनाइएको छ।
डोसानअन्तर्गत कार्यरत विदेशीमा दक्षिण कोरियाली, भारतीय, अमेरिकी र क्यानडेली नागरिकसमेत छन्।
अन्य परियोजनामा पनि विदेशी कामदार बेपत्ता
चाइना जिजुन इन्टरनेसनल इकोनोमिक एन्ड टेक्निकल कोअपरेसनअन्तर्गत रसुवाको नीलकण्ठ नमुना माध्यमिक विद्यालय निर्माणमा खटिएका १९ विदेशी कामदारसँग पनि सम्पर्क हुन नसकेको विभागले जनाएको छ।
चाइना इन्टरनेसनल वाटर एन्ड इनर्जी कर्पोरेसनअन्तर्गत सल्ला सुङ्गे पावरमा कार्यरत १२ विदेशी तथा सिनो हाइड्रो ब्युरो–७ अन्तर्गत रसुवा भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्ने ११ चिनियाँ नागरिक पनि सम्पर्कविहीन सूचीमा छन्।
नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीसँग सम्बन्धित अपर त्रिशूली–१ को संयुक्त उपक्रममा कार्यरत एक अमेरिकी र एक क्यानडेली नागरिकको विवरणसमेत सम्पर्कविहीन सूचीमा रहेको विभागले जनाएको छ।
यसैगरी त्रिशूली क्षेत्रमा फिल्डमा जाने गरी काठमाडौंको नक्सालमा कार्यालय रहेको एक कम्पनीका ६ विदेशी कामदारको अवस्था पनि स्पष्ट हुन सकेको छैन। एचएनएओसी सांघाई जेभीका चार विदेशी कामदारसमेत विभागको सम्पर्कविहीन सूचीमा छन्।
वास्तविक संख्या अझै बढ्न सक्ने
विभागले हाल सार्वजनिक गरेको तथ्यांक वैध वर्क परमिट भएका विदेशीको मात्रै भएकाले वास्तविक संख्या अझै बढी हुन सक्ने जनाएको छ।
कतिपय विदेशी कामदारको वर्क परमिट नवीकरण प्रक्रियामा रहेको, केही कम्पनीले जरिबाना तिरेर काम गराइरहेको तथा केहीको विवरण विभागसम्म अद्यावधिक भइनसकेको हुन सक्ने प्रवक्ता गोपको भनाइ छ।
यसले बाढी प्रभावित जलविद्युत् आयोजनामा कार्यरत विदेशी कामदारको वास्तविक अवस्था अझै पूर्ण रूपमा खुल्न नसकेको देखाएको छ।
बाढीपछि विभिन्न आयोजनाका सुरुङ, निर्माणस्थल तथा कामदार शिविरमा खोजी तथा उद्धार जारी रहे पनि सम्पर्कविहीनको संख्या ठूलो भएकाले विदेशी कामदारको अवस्थाबारे सम्बन्धित दूतावास र परियोजना कम्पनीको चासोसमेत बढेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।