काठमाण्डौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एभरेष्ट बैंक लिमिटेडले ३ करोड ११ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ५१ लाख रुपैयाँ र बैंकका कर्मचारीहरूको तर्फबाट ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा गरी कुल ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको जनाएको छ।
बैंकका अनुसार नगद सहयोगसँगै कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीसमेत विपद् प्रभावित क्षेत्रमा पठाउन सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको छ।
बैंकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को समयमा अग्रपङ्क्तिमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह, विभिन्न संघसंस्था तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेको छ।
एभरेष्ट बैंकले विपद्का बेला प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउनु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।