काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न धादिङको गल्छीतर्फ प्रस्थान गरेका छन्।
बुधबार अध्यक्ष ओलीसँगै एमाले महासचिव शंकर पोखरेल, नेताहरू प्रदीप ज्ञवाली, महेश बस्नेतलगायतको टोली गल्छीतर्फ गएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन्।
एमालेका अनुसार टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्था अवलोकन गर्नुका साथै जारी उद्धार, राहत तथा सहयोगका कामबारे जानकारी लिनेछ।
भोटेकोशी–त्रिशूली बाढीका कारण धादिङसहित विभिन्न जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ। बाढीले सडक, पुल तथा अन्य पूर्वाधारमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रको जनजीवन कठिन बनेको छ।
एमालेले बाढी प्रभावित क्षेत्रमा आफ्ना विभिन्न जनसंगठन तथा स्वयंसेवक परिचालन गरेको जनाएको छ।
पार्टी निकट जिफन्ट, अनेरास्ववियु, भूतपूर्व सेना–प्रहरी संगठन, रिटर्नी फेडेरेसनलगायतका संगठनका स्वयंसेवक उद्धार, राहत तथा प्रभावित नागरिकलाई सहयोग गर्ने काममा खटिएको एमालेले जनाएको छ।
अध्यक्ष ओलीले यसअघि पनि भोटेकोशी बाढीपछिको उद्धार तथा राहत व्यवस्थापनलाई लिएर सरकारको भूमिकामाथि प्रश्न उठाउँदै प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न आग्रह गर्दै आएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।