बुधबार, भाद्र १७,२०८३ 11:07:23
Bizshala
  • बुधबार, भाद्र १७,२०८३ 11:07:23
Bizshala
Global IME Bank Limited

एनसेलमाथि विपत्तिको दोहोरो भार : ९ करोड क्षति, सवा करोडको निःशुल्क सेवा

भोटेकोशीले टावरसहित ६० किमि फाइबर ध्वस्त बनायो, तीन लाखभन्दा बढी ग्राहकलाई सञ्चार राहत

एनसेलमाथि विपत्तिको दोहोरो भार : ९ करोड क्षति, सवा करोडको निःशुल्क सेवा
New Office

काठमाण्डौ । भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीले निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले रसुवाको टिमुरेमा रहेको एउटा मोबाइल टावर पूर्ण रूपमा नष्ट गर्नुका साथै ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबर लाइन ध्वस्त बनाएको हो।

प्रारम्भिक आकलनअनुसार टावर तथा फाइबर पूर्वाधारमा पुगेको क्षतिबाट मात्रै कम्पनीले ९ करोड रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी बेहोरेको छ। विस्तृत प्राविधिक मूल्याङ्कनपछि क्षतिको वास्तविक आकार अझ बढ्न सक्ने देखिएको छ।

भोटेकोशी बाढी र त्यसपछिका पहिरोले नुवाकोट, रसुवा तथा धादिङमा एनसेलका २७ वटा मोबाइल टावर प्रभावित भएका थिए। कम्पनीले तीमध्ये २४ वटा टावर पुनः सञ्चालनमा ल्याइसकेको जनाएको छ। यसले विपद्पछिको कठिन भूगोल र अवरुद्ध यातायातबीच पनि अधिकांश सञ्चार पूर्वाधार छोटो समयमै पुनर्बहाली भएको देखाउँछ।

बाँकी तीनमध्ये रसुवाको घट्टेखोला–टिमुरे क्षेत्रमा रहेको एउटा टावर पूर्ण रूपमा नष्ट भएको छ। नुवाकोटको त्रिशूली–विदुर र रसुवाको तिरुमा रहेका टावर सञ्चालनमा ल्याउन प्राविधिक टोली फिल्डमै खटिएको कम्पनीले जनाएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

तीन लाखभन्दा बढी ग्राहकलाई निःशुल्क सेवा

भौतिक पूर्वाधारमा ठूलो क्षति बेहोरे पनि एनसेलले प्रभावित क्षेत्रमा निःशुल्क दूरसञ्चार सेवा जारी राखेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका तीन लाखभन्दा बढी ग्राहकले निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको लाभ लिइरहेका छन्।

कम्पनीका अनुसार सोमबारसम्म ग्राहकले प्रयोग गरेको निःशुल्क सेवाको मूल्य एक करोड २० लाख रुपैयाँ नाघिसकेको छ। यस आधारमा पूर्वाधारमा भएको प्रारम्भिक क्षति र निःशुल्क सेवाको मूल्यसमेत जोड्दा एनसेलले विपद्का कारण बेहोरेको प्रत्यक्ष आर्थिक भार १० करोड २० लाख रुपैयाँभन्दा माथि पुगेको देखिन्छ।

यद्यपि, निःशुल्क सेवाको रकम कम्पनीको भौतिक नोक्सानी नभई विपद् प्रभावित ग्राहकलाई उपलब्ध गराइएको दूरसञ्चार सुविधाको मूल्य हो।

बाढी आउनुअघिका सात दिनमा प्रभावित क्षेत्रमा सक्रिय रहेका एनसेलका ग्राहकलाई निःशुल्क सेवाका लागि योग्य बनाइएको छ। सुरुमा तीन दिनका लागि दिइएको सुविधा पछि शनिबारदेखि थप सात दिन लम्ब्याइएको थियो। अवरुद्ध टावर पुनः सञ्चालनमा आउने क्रम बढेसँगै निःशुल्क सेवाको प्रयोग पनि उल्लेख्य रूपमा बढिरहेको कम्पनीले जनाएको छ।

ब्यालेन्स नभएर बन्द भएका २५ हजारभन्दा बढी सिम सक्रिय

संकटका बेला सर्वसाधारण सञ्चार सम्पर्कबाट वञ्चित नहोऊन् भनेर एनसेलले २५ हजारभन्दा बढी ग्राहकका निष्क्रिय सिमसमेत पुनः सञ्चालनमा ल्याएको छ।

ब्यालेन्स रिचार्ज नगरेका कारण एकतर्फी सेवा रोकिएका वा इनकमिङ र आउटगोइङ दुवै सेवा बन्द भएका सिम पुनः सक्रिय गरिएको हो। ती ग्राहकले समेत निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा प्रयोग गर्न पाएका छन्।

कम्पनीको यो कदमले प्रभावित नागरिकलाई परिवार तथा आफन्तसँग सम्पर्क गर्न, आफ्नो अवस्थाबारे जानकारी दिन र उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग सहयोग माग्न सहज भएको छ।

एनसेलले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय गरी जनचेतनामूलक कलर टोन तथा एसएमएस पनि प्रसारण गरिरहेको छ। त्यस्ता सन्देशमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम पठाउनुअघि बैंक खाता, क्यूआर कोड तथा लिंक आधिकारिक भए-नभएको यकिन गर्न आग्रह गरिएको छ।

त्यसैगरी, सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा विपद्सँग सम्बन्धित विभत्स र हृदयविदारक तस्बिर तथा भिडियो प्रकाशन नगर्न र राखिएका सामग्री तत्काल हटाउनसमेत अनुरोध गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.