काठमाडौं। निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलको उच्च व्यवस्थापनमा एकैपटक महत्वपूर्ण फेरबदल भएको छ। प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले पदबाट राजीनामा दिएपछि कम्पनीले प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत डिल्लीराम श्रेष्ठलाई अन्तरिम नेतृत्व सुम्पिएको हो।
एनसेल सञ्चालक समितिले फोलेको राजीनामा स्वीकृत गर्दै भदौ ९ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई अन्तरिम सीईओको जिम्मेवारी दिएको छ। स्थायी सीईओ नियुक्त नहुँदासम्म कम्पनीको कार्यकारी निर्णय गर्ने अधिकारसहितको ‘लिमिट अफ अथोरिटी’ पनि श्रेष्ठलाई प्रदान गरिएको छ।
फोलेले २०८२ कात्तिक १५ गतेदेखि एनसेलको सीईओका रूपमा जिम्मेवारी सम्हालेका थिए। एक वर्षसमेत पूरा नहुँदै उनले कम्पनी छाड्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
फोलेको बहिर्गमन स्मार्ट टेलिकमको सम्पत्ति खरिदसम्बन्धी विवाद कानुनी प्रक्रियामा प्रवेश गरेको समयसँगै भएको हो। सरकारको स्वामित्वमा पुगेको स्मार्ट टेलिकमको सम्पत्ति नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनसेललाई बिक्री गरेको विषयमा सम्बन्धित बैंक तथा एनसेलका अधिकारीविरुद्ध मुद्दा दायर भएको छ।
उक्त विवादपछि नेपालमा बसेर नियमित रूपमा काम गर्न कठिन परिस्थिति उत्पन्न भएकाले फोलेले राजीनामा दिएको स्रोतको दाबी छ। यद्यपि, फोलेले आफ्ना सहकर्मीहरूसँगको कुराकानीमा पारिवारिक दायित्वका कारण पदबाट अलग हुन लागेको जानकारी गराएको बताइएको छ। उनी केही समयअघि नेपाल आएर एनसेलको कार्यालयसमेत पुगेका थिए।
कम्पनीले व्यवस्थापनमा गरिएको फेरबदलको जानकारी भदौ १६ गते नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई गराइसकेको छ। प्राधिकरणका एक अधिकारीले एनसेलबाट सीईओ परिवर्तनसम्बन्धी पत्र प्राप्त भएको पुष्टि गरेका छन्।
एनसेलले नेतृत्व परिवर्तनसँगै आफ्नो उच्च व्यवस्थापनमा नेपाली सेनाका एक पूर्वउच्च अधिकृतलाई समेत भित्र्याएको छ। स्रोतका अनुसार नेपाली सेनाका अवकाशप्राप्त मेजर जनरल सन्तोषकुमार ढकाललाई कम्पनीले ‘चिफ अफ स्टाफ’को जिम्मेवारी दिएको छ।
दूरसञ्चार कम्पनीमा पूर्वसैनिक उच्च अधिकृतलाई यस्तो महत्वपूर्ण व्यवस्थापकीय जिम्मेवारी दिइनुलाई रणनीतिक पुनर्संरचनाका रूपमा हेरिएको छ।
यस्तै, कर्पोरेट कम्युनिकेसन तथा सस्टेनिबिलिटी निर्देशक विशाखा लक्ष्मी खड्कालाई एनसेल फाउन्डेसनको निर्देशकको थप जिम्मेवारी दिइएको छ। यससँगै कम्पनीले कार्यकारी नेतृत्व, आन्तरिक समन्वय र संस्थागत सामाजिक उत्तरदायित्व हेर्ने संरचनामा एकैपटक परिवर्तन गरेको देखिएको छ।
अन्तरिम सीईओ नियुक्त डिल्लीराम श्रेष्ठ बैंकिङ, कर्पोरेट कानुन, नियामकीय अनुपालन र संस्थागत सुशासनमा लामो अनुभव भएका कानुन व्यवसायी हुन्। एनसेल प्रवेश गर्नुअघि उनी कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल लिमिटेडमा कन्ट्री लिगल डाइरेक्टर थिए।
उनले मेगा बैंक नेपाल लिमिटेडमा लिगल हेड तथा सिभिल बैंक लिमिटेडमा कम्पनी सचिव एवं प्रमुख कानुन अधिकृतका रूपमा काम गरिसकेका छन्। त्यसअघि सिद्धार्थ बैंकमा हेड–लिगल र राष्ट्रिय वाणिज्य बैंकमा कानुन अधिकृतको जिम्मेवारीमा थिए।
नेपाल ल क्याम्पसबाट एलएलएम गरेका श्रेष्ठ कानुनी तथा नियामकीय अनुपालनका विषयमा खरो व्यवस्थापक मानिन्छन्। उनले २०६६ सालमा वकिल क्लब काठमाडौंमार्फत उत्कृष्ट कानुनी लेखन पुरस्कारसमेत प्राप्त गरेका थिए।
कम्पनीको सम्पत्ति खरिदसम्बन्धी विवाद कानुनी छानबिनमा रहेको, नियामकीय चुनौती बढेको र स्थायी सीईओ नियुक्त भइनसकेको अवस्थामा एनसेलले कानुनी पृष्ठभूमिका श्रेष्ठलाई कार्यकारी अधिकारसहित अन्तरिम नेतृत्व दिनुलाई विशेष महत्वका साथ हेरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।