काठमाण्डौ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका सञ्जय साहले बाढी आउँदा आफूभन्दा पहिले अरूको ज्यान जोगाउने प्रयास गर्दा सुरुङभित्रै फस्न पुगेको बताएका छन्।
शुक्रबार बिहान उद्धारपछि नेपाली सेनाका अधिकारीसँग भएको छोटो संवादमा साहले आफू कन्ट्रोल रुममा अपरेटरका रूपमा कार्यरत रहेको र दुर्घटनाको संकेत पाएपछि सहकर्मीलाई तत्काल बाहिर निस्कन खबर गरेको बताएका हुन्।
उनका अनुसार सामान्य समयमा त्यहाँ चार–पाँच जना मात्र रहने गरे पनि बाढी आएको दिन करिब ४० देखि ४५ जना आसपासमा रहेका थिए।
कन्ट्रोल रुममा रहेकाले सबैलाई खतरा भएको सूचना दिनु आफ्नो जिम्मेवारी ठानेको साहले बताएका छन्। दुर्घटना भएपछि आफू मात्रै भाग्नु उचित नहुने ठानेर अरूलाई बाहिर निस्कन लगाउँदा आफ्नो समय सकिएको र अन्तिममा स्वयं बाहिर निस्कन नसकेको उनको भनाइ छ।
साहले सुरुङको भित्री भागमा अझै मानिस अड्किएको हुनसक्ने आशंका पनि व्यक्त गरेका छन्। आफ्नै सम्पर्कमा तीन–चार जना साथी आसपासमा रहेको उल्लेख गर्दै उनले पावरहाउस क्षेत्र र लामो सुरुङभित्र पनि मानिस हुनसक्ने बताएका छन्।
बाढीको तीव्र बहावले सुरुङको भित्री भागसम्म पानी पुगेको हुनसक्ने र सबै जना समयमै बाहिर निस्कन नसकेको हुनसक्ने उनको अनुमान छ।
उद्धारपछि आजको मिति सोधेका साहलाई भदौ १९ गते भएको जानकारी दिइएको थियो। आफू १० दिनपछि बाहिर निस्किएको थाहा पाएपछि उनले लामो समय सुरुङभित्र रहँदा ‘महामन्त्र जपेर’ बसेको बताएका छन्।
उनको यो बयानले सुरुङभित्र बिताएका १० दिन कति कठिन र अनिश्चित थिए भन्ने मात्र होइन, दुर्घटनाको क्षणमा सहकर्मीलाई बचाउन उनले देखाएको जिम्मेवारीबोध पनि उजागर गरेको छ।
साहसँगै मेकानिकल सुपरभाइजर कबिर महर्जनलाई पनि शुक्रबार बिहान जीवितै उद्धार गरिएको थियो। दुई जनाको सफल उद्धारपछि अब सुरुङको थप भित्री भागमा अड्किएकाहरूको खोजीलाई अझ तीव्र बनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।