काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी राय÷सुझाव माग गरेको छ । सेबोनको नीति अनुसन्धान तथा प्रशिक्षण विभागले एक सूचना जारी गर्दे यस्तो माग गरेको हो ।
उक्त सूचनामा धितोपत्र बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारलाई सम्पूर्ण सरोकारावालाको अपेक्षा अनुरुप बजार पूर्वाधारको व्यवस्था, बजारको विकास तथा विस्तार, बजार तथा नियमनको पहुँच अभिवृद्धि, बजारको प्रभावकारी नियमन तथा सुपरिवेक्षण, स्वच्छ, दिगो, पारदर्शी, आधुनिक, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बजार कायम गर्न प्रयासरत रहेको उल्लेख गरिएको छ ।
यहि उदेश्य अनुरुप बोर्डले प्रत्येक आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजनासहित नीति तथा कार्यक्रम तयार गरी कार्यान्वयन गर्दै आएको जनाएको छ । सो व्यवस्थालाई निरन्तरता दिँदै नेपाल सरकारको पूँजी बजारसम्बन्धी नीति, कार्यक्रम तथा प्राथमिकतासमेतलाई दृष्टिगत गरी आर्थिक वर्ष २०८१/८२ मा जनअपेक्षाअनुरुपको कार्यान्वयन योग्य नीति तथा कार्यक्रम तयार गरी लागू गर्ने कार्यका लागि सम्पूर्ण सरोकारवालासँग धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास विस्तार तथा सुधार प्रभावकारी नियमन र सुपरिवेक्षणका लागि रचनात्मक एवं समसामयिक विषयमा अमूल्य राय/सुझाव पेश गर्न बोर्डले आह्वान गरेको छ ।
यस्ता राय/सुझाव आगामी जेठ १५ गतेभित्र धितोपत्र बोर्डको ई–मेल [email protected] मा पठाउनु पर्नेछ ।