काठमाडौं। इमर्जिङ नेपाल लिमिटेडबाट ठूला आधारभूत तथा संस्थापक सेयरधनी बाहिरिने क्रम थप तीव्र बन्ने संकेत देखिएको छ। कम्पनीमा रहेको आफ्नो ठूलो परिमाणको सेयर बिक्री गर्न अर्को प्रतिष्ठित औद्योगिक घराना संघाई समूहसम्बद्ध सेयरधनीले औपचारिक प्रक्रिया अघि बढाएका छन्।
इमर्जिङ नेपालले नेपाल स्टक एक्सचेन्जलाई पठाएको जानकारीअनुसार आधारभूत सेयरधनी सुभाषचन्द्र संघाई र दीनानाथ खण्डेलवालले आफूसँग रहेको कुल ६ लाख ८० हजार ६०० कित्ता सेयर आगामी तीन महिनाभित्र बिक्री गर्ने आशयसहित कम्पनीमा निवेदन दिएका हुन्।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार सुभाषचन्द्र संघाईले आफ्नो स्वामित्वमा रहेको ६ लाख २५ हजार ४० कित्ता तथा दीनानाथ खण्डेलवालले ५५ हजार ५६० कित्ता सेयर बेच्न खोजेका छन्। यी दुई सेयरधनीले बिक्री गर्न चाहेको सेयर जोड्दा कुल संख्या ६ लाख ८० हजार ६०० कित्ता पुग्छ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ५० को उपदफा १ अनुसार कुनै आधारभूत सेयरधनीले आफूले धारण गरेको पाँच प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिनअगावै कम्पनीमार्फत जानकारी गराउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाबमोजिम कम्पनीले असोज ३० गते नेपाल स्टक एक्सचेन्जलाई सेयर बिक्रीको आशयबारे जानकारी गराएको हो।
तर सूचनामा सेयर कसलाई, कुन विधिबाट र कति मूल्यमा बिक्री गर्न लागिएको हो भन्ने खुलाइएको छैन। सेयर बिक्रीको वास्तविक कारोबार भइसकेको नभई आगामी तीन महिनाभित्र बेच्ने आशय मात्रै औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
ठूला सेयरधनीको बहिर्गमन संयोग मात्रै हो?
संघाई समूहसम्बद्ध सेयरधनीको पछिल्लो निर्णयलाई इमर्जिङ नेपालमा देखिएको एउटा अलग घटना मात्रै मान्न कठिन देखिएको छ। बिजशालाले सोमबार मात्रै कम्पनीबाट विभिन्न ठूला आधारभूत तथा संस्थापक सेयरधनी बाहिरिन खोजेको विषय सार्वजनिक गरेको थियो। त्यसको भोलिपल्टै अर्को ठूलो औद्योगिक समूहसम्बद्ध सेयरधनीको बिक्री योजना बाहिरिनुले कम्पनीमा ठूला लगानीकर्ताको ‘एक्जिट प्लान’ लम्बिँदै गएको देखाउँछ।
एकपछि अर्को प्रभावशाली सेयरधनीले ठूलो परिमाणको सेयर बिक्री गर्ने मनसाय देखाउँदा दोस्रो बजारमा कम्पनीप्रतिको लगानीकर्ता मनोविज्ञान प्रभावित हुनसक्छ। विशेषगरी कम्पनीको सेयरमूल्य यसअघि नै छोटो अवधिमा तीव्र रूपमा घटिसकेको अवस्थामा थप ठूलो परिमाणको सम्भावित आपूर्तिले बजारमा दबाब सिर्जना गर्नसक्ने चिन्ता देखिन्छ।
यद्यपि बिक्रीको आशय सार्वजनिक हुँदैमा सबै सेयर तत्काल बजारमा आउने निश्चित हुँदैन। प्रस्तावित कारोबार कसरी व्यवस्थापन हुन्छ, खरिदकर्ता को बन्छन् र सेयर बिक्री वास्तवमै सम्पन्न हुन्छ वा हुँदैन भन्ने विषयले यसको वास्तविक प्रभाव निर्धारण गर्नेछ।
तर इमर्जिङ नेपालमा ठूला आधारभूत सेयरधनीले लगातार सेयर बेच्ने मनसाय सार्वजनिक गर्नु सामान्य संकेत भने होइन। कम्पनीभित्रका दीर्घकालीन लगानीकर्ताले किन एकपछि अर्को गर्दै बाहिरिने बाटो रोजिरहेका छन् भन्ने प्रश्न अब बजारमा थप बलियो बनेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।