काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनको उद्घाटन गरिदिन सार्वजनिक आग्रह गरेका छन्।
बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले असोज १६ गते हुने महाधिवेशन उद्घाटन समारोहमा देउवाको उपस्थिति पार्टीका लागि सम्मानको विषय हुने बताएका हुन्।
‘मेरो आदरणीय नेता पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु,’ थापाले भने, ‘अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ।’
थापाले पार्टी विधानका कारण अब देउवा फेरि सभापति बन्ने अवस्था नरहेको उल्लेख गर्दै पूर्वसभापतिको हैसियतमा पार्टीको महाधिवेशनमा सहभागी हुन आग्रह गरे।
उनले असोज १६ गते काठमाडौंको खुलामञ्चबाट महाधिवेशन सुरु गर्ने तयारी रहेको बताए। त्यसअघि असोज ३ र ४ गते वडा अधिवेशन तथा त्यसपछि नगर तहका अधिवेशन गर्ने कार्यतालिका रहेको उनको भनाइ छ।
जिल्ला र प्रदेश तहका अधिवेशनका लागि समयको चाप रहे पनि पार्टीभित्र थप छलफल र सहमतिको वातावरण बनाउन आफूहरू तयार रहेको थापाले बताए।
कांग्रेसभित्र देउवा र थापा पक्षबीच महाधिवेशन तथा पार्टीको संस्थागत वैधानिकताबारे विवाद कायमै रहेको अवस्थामा थापाले देउवालाई उद्घाटनका लागि गरेको यो आग्रहलाई पार्टीभित्र संवाद र एकता कायम गर्ने प्रयासका रूपमा प्रस्तुत गरेका छन्। देउवा पक्षले भने यसअघि वर्तमान संस्थापनले अघि बढाएको महाधिवेशन प्रक्रियामा असहमति जनाउँदै आएको छ।
थापाको सन्देश स्पष्ट थियो—पार्टीभित्र मतभेद रहे पनि महाधिवेशनलाई सबै पक्षको साझा थलो बनाउन प्रयास गरिनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।