काठमाण्डौ । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली प्रहारबाट घाइते भएका १९ वर्षीय नीरजकुमार यादवको शरीरबाट गोली निकालिएको छ।
विराटनगरस्थित नोबेल अस्पतालमा शल्यक्रिया गरी उनको दायाँ खुट्टाको माथिल्लो भागमा लागेको एउटा बुलेट निकालिएको प्रहरीले जनाएको छ। यादव देवानगञ्ज–१ कप्तानगञ्जका स्थानीय हुन्।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ‘लाली’ भनेर चिनिने जयकिशोर यादव र विष्णुकुमार यादव रहेका छन्। उनीहरू देवानगञ्ज–२ का स्थानीय हुन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार घटनामा संलग्न भनिएका अन्य चार जना फरार छन्। उनीहरूको पहिचान भइसकेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा युवतीसम्बन्धी विवादका कारण गोली चलेको हुनसक्ने देखिएको छ। यद्यपि घटनाको वास्तविक कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले स्पष्ट पारेको छ।
डीएसपी खड्काका अनुसार गोली प्रहार गर्ने पक्ष र घाइते युवक पूर्वपरिचित थिए। फरार व्यक्तिहरू पक्राउ परेपछि घटनाको विस्तृत कारण थप स्पष्ट हुने प्रहरीको अपेक्षा छ।
घाइते यादवको शरीरबाट निकालिएको बुलेटलाई परीक्षणका लागि पठाइने भएको छ। परीक्षणपछि गोली प्रहारमा कुन प्रकारको हतियार प्रयोग भएको थियो भन्ने यकिन गरिने प्रहरीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।