काठमाण्डौ । नेकपा एमालेको सोमबारदेखि सुरु भएको तेस्रो केन्द्रीय कमिटी बैठकमा नौ वटा एजेन्डामाथि छलफल हुने भएको छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनदेखि पोलिटब्युरो र स्थायी कमिटी गठनसम्मका विषयलाई एजेन्डामा राखिएको छ।
बैठकका नौ एजेन्डामा अध्यक्षको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटीमा मनोनयन, विभागहरूको गठन तथा पूर्णता, पोलिटब्युरो गठन, स्थायी कमिटी गठन, सल्लाहकार परिषद् गठन, ज्येष्ठ कम्युनिस्ट मञ्च गठन, अनुशासन आयोग तथा समसामयिक प्रस्ताव पारित गर्ने विषय समावेश छन्।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन्। उक्त प्रतिवेदनमाथि मंगलबार र बुधबार दुई दिन छलफल गर्ने कार्यतालिका तय गरिएको छ।
राजनीतिक प्रतिवेदनमाथिको छलफलमा प्रत्येक केन्द्रीय सदस्यलाई आफ्नो धारणा राख्न तीन मिनेटको समय दिइने भएको छ।
बैठकको माइन्युट लेखनको जिम्मेवारी उपाध्यक्ष विष्णुप्रसाद पौडेल र गोकर्ण विष्ट तथा महासचिव शंकर पोखरेललाई दिइएको छ।
त्यस्तै, केन्द्रीय कमिटी बैठकमा हुने बहस र नेताहरूका धारणा समेटेर ‘बहस नोट’ तयार गर्ने जिम्मेवारी पाँच नेतालाई दिइएको छ।
उपमहासचिव योगेश भट्टराई, सचिव पद्मा अर्याल तथा केन्द्रीय सदस्य सूर्य थापा, नीरज आचार्य र खिमलाल भट्टराईले बहस नोट तयार गर्नेछन्।
बैठकमा संगठन पुनर्गठनसँग जोडिएका संरचनालाई पूर्णता दिने विषयसँगै पार्टीको आगामी राजनीतिक तथा सांगठनिक कार्यदिशाबारे पनि छलफल हुने भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।