काठमाण्डौ । प्रतिनिधिसभा सदस्यका लागि संघीय संसद् भवनमा सञ्चालन हुँदै आएको क्यान्टिन मंगलबार बन्द गरिएको छ। एक दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले क्यान्टिनमा महँगो मूल्य तोकिएको भन्दै प्रतिनिधिसभा बैठकमा प्रश्न उठाएका थिए।
सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद सुनारले संसद् सचिवालयभित्र सञ्चालन भइरहेको क्यान्टिनमा कालो चियाको मूल्य १०० रुपैयाँ र ममको ३०० रुपैयाँ तोकिएको भन्दै आपत्ति जनाएका थिए।
उनले क्यान्टिनको मूल्य निर्धारण गर्दा सांसदसँगै संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी तथा मर्यादापालकको आर्थिक अवस्थासमेत विचार गर्नुपर्ने बताएका थिए। संसद् परिसरका क्यान्टिनमा सर्वसाधारणको पहुँचमा हुने गरी मूल्य कायम गर्नुपर्ने उनको माग थियो।
सुनारले संसद्मा यसबारे आवाज उठाएको भोलिपल्ट प्रतिनिधिसभा सदस्यका लागि सञ्चालन गरिएको क्यान्टिन बन्द गरिएको हो। यद्यपि क्यान्टिन किन बन्द गरिएको हो र आगामी दिनमा पुनः सञ्चालन हुन्छ वा हुँदैन भन्नेबारे औपचारिक जानकारी सार्वजनिक भएको छैन।
क्यान्टिनको मूल्यबारे सांसद सुनारले प्रश्न उठाएपछि त्यसको मूल्य निर्धारण र सञ्चालनबारे थप चासो बढेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।