काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ‘सम्मानित वरिष्ठ नेता’ बनेसँगै पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को वरीयताक्रम एक तह तल झरेको छ।
बिहीबार बसेको एमाले सचिवालय बैठकले भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव गरेको थियो। सोही दिन बसेको केन्द्रीय कमिटी बैठकले उक्त प्रस्ताव अनुमोदन गरेपछि पार्टीको वरीयतामा नयाँ क्रम कायम भएको हो।
यसअघि अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो वरीयतामा रहेका उपाध्यक्ष बादल अब तेस्रो स्थानमा पुगेका छन्। भण्डारी अध्यक्ष ओलीपछि दोस्रो वरीयतामा रहने भएकी छन्।
भण्डारी एमालेको सक्रिय राजनीतिमा पुनः जोडिएसँगै पार्टीभित्र उनको औपचारिक स्थान र भूमिका कसरी निर्धारण हुने भन्ने चासो थियो। सचिवालय र केन्द्रीय कमिटीको निर्णयले उनलाई ‘सम्मानित वरिष्ठ नेता’को हैसियत दिएको हो।
पूर्वमाओवादी पृष्ठभूमिका बादल
रामबहादुर थापा ‘बादल’ पूर्वमाओवादी केन्द्र पृष्ठभूमिका नेता हुन्।
एमाले र माओवादी केन्द्रबीच एकता भएर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो। पछि सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि बादलसहित लेखराज भट्ट र टोपबहादुर रायमाझीलगायत नेताहरू एमालेमै रहेका थिए।
एमालेमा हाल सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ सचिव रहने सांगठनिक संरचना छ।
भण्डारीलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिएसँगै एमालेको शीर्ष वरीयतामा अध्यक्ष ओली, भण्डारी र उपाध्यक्ष बादल क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहने भएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।