काठमाण्डौ । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहमा प्रवेश गरेका छन्।
मंगलबार देउवा समूहको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले मनाङेलाई समूहमा स्वागत गरेका हुन्। कोइरालाको सचिवालयका अनुसार मनाङेलाई आगामी महाधिवेशनका लागि मनाङ जिल्लाको संयोजकको जिम्मेवारीसमेत दिइएको छ।
कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र संस्थापन र देउवा समूह छुट्टाछुट्टै प्रक्रियामा अघि बढिरहेका बेला मनाङेको प्रवेश भएको हो। देउवा समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा महाधिवेशन तयारी समिति गठन गरी विभिन्न जिल्लामा संयोजक र केन्द्रीय प्रतिनिधि तोकेर संगठनात्मक तयारी अघि बढाइरहेको छ।
यसअघि मनाङेले साउनमा देउवासँग भेट गरेका थिए भने देउवा समूहका गतिविधिमा पनि देखिएका थिए। मंगलबार भने उनी औपचारिक रूपमा उक्त समूहमा जोडिएका हुन्।
देउवा समूहले १५औँ केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।