काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘वल्र्ड इन्भेष्टर विक–२०२६’ को अवसरमा देशका विभिन्न स्थानमा लगानीकर्ता शिक्षा, प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय धितोपत्र आयोगहरूको संगठनको अभियानअन्तर्गत सेबोनले असोज १९ देखि २५ गतेसम्म (अक्टोबर ५–११, २०२६) विश्व लगानीकर्ता सप्ताह मनाउन लागेको हो। बोर्डले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार सप्ताहको सुरुवाती दिनदेखि नै कोशी, गण्डकी, कर्णाली र बागमती प्रदेशमा विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् ।
असोज १९ गते विराटनगर, पोखरा र सुर्खेतमा प्रभातफेरी कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रममा सेबोन र स्टक ब्रोकर एसोसिएसन अफ नेपालको सहभागिता रहनेछ । कार्यक्रम विशेषगरी सर्वसाधारण लगानीकर्तालाई लक्षित गरिएको छ ।
सोही दिन विराटनगर र पोखरामा लगानीकर्ता प्रशिक्षण तथा सचेतना कार्यक्रम समेत आयोजना हुनेछ। उक्त कार्यक्रममा सर्वसाधारण लगानीकर्ता, व्यवसायी तथा बैंकका कर्मचारीलाई लक्षित गरिएको छ । कार्यक्रममा सेबोन, एसबान र ICRA को सहभागिता रहने तालिकामा उल्लेख छ ।
असोज १९ गते नै सर्वसाधारण लगानीकर्तालाई लक्षित गरी पोडकास्ट सञ्चालन गर्ने तथा सञ्चारमाध्यममार्फत विश्व लगानीकर्ता सप्ताहका ‘कि म्यासेज’ प्रकाशन÷प्रसारण गर्ने कार्यक्रमसमेत तय गरिएको छ । पोडकास्टमा सेबोन र मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालको सहभागिता रहनेछ ।
त्यस्तै, असोज २० गते विराटनगर र सुर्खेतमा लगानीकर्ता प्रशिक्षण तथा सचेतना कार्यक्रम सञ्चालन हुनेछ । ती कार्यक्रम सर्वसाधारण लगानीकर्ता तथा विद्यार्थीलाई लक्षित हुनेछन् ।
सोही दिन पोखरामा विद्यार्थीलाई लक्षित गरी प्यानल डिस्कसन आयोजना गरिनेछ । कार्यक्रममा सेबोन र सम्बन्धित निकायको सहभागिता रहनेछ । देशव्यापी रूपमा पनि सीडीएससी, मर्चेन्ट बैंकर्स एसोसिएसन र स्टक ब्रोकर एसोसिएसनको समन्वयमा लगानीकर्ता शिक्षा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना हुनेछ ।
असोज २१ गते पोखरामा विद्यार्थीहरूका लागि अन्तर–क्याम्पस प्रस्तुतीकरण प्रतियोगिता आयोजना गरिनेछ । प्रतियोगिताको विषय 'Invest In Your Future. Protect It Today.' तय गरिएको छ ।
त्यसैगरी असोज २१ गते काठमाडौंमा विद्यार्थीहरूलाई पूँजीबजारको व्यवहारिक जानकारी दिने उद्देश्यले नेप्से भ्रमण, सीडीएससी भ्रमण, स्टक डिलर भ्रमण, ब्रोकर भ्रमण तथा मर्चेन्ट बैंकर्स भ्रमण जस्ता कार्यक्रम सञ्चालन गरिनेछन् । उक्त कार्यक्रममा नेप्से, सीडीएससी, मर्चेन्ट बैंक, स्टक ब्रोकर तथा स्टक डिलरहरूको सहभागिता रहनेछ ।
विश्व लगानीकर्ता सप्ताहमार्फत लगानीकर्तालाई पूँजीबजारसम्बन्धी आधारभूत ज्ञान, जोखिम पहिचान, जिम्मेवार लगानी अभ्यास तथा लगानी सुरक्षासम्बन्धी सचेतना बढाउने उद्देश्य राखिएको छ । सेबोनले यस वर्षको अभियानलाई काठमाडौंमा मात्र सीमित नराखी प्रदेशस्तरसम्म विस्तार गरेको कार्यक्रम तालिकाले देखाउँछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।