काठमाण्डौ । नेपाली कांग्रेसभित्रको आधिकारिकता विवाद कायमै रहेका बेला पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। देउवा समूहले बिहीबारदेखि वडा तहको अधिवेशन सुरु गर्दै समानान्तर महाधिवेशन प्रक्रियामा प्रवेश गरेको हो।
कांग्रेसको अर्को पक्षले यसअघि नै वडा अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रक्रिया अघि बढाइसकेको अवस्थामा देउवा समूहले पनि छुट्टै कार्यतालिकाअनुसार संगठनको तल्लो तहबाट अधिवेशन सुरु गरेको हो।
देउवा समूहले केन्द्रीय महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म गर्ने तालिका बनाएको छ। त्यसअघि असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यक्रम तय गरिएको छ। उक्त कार्यतालिकाबारे निर्वाचन आयोगलाई समेत औपचारिक जानकारी गराइएको छ।
महाधिवेशनको तयारीका लागि समूहले देशभर निर्वाचनसम्बन्धी जिम्मेवारी बाँडफाँट गरिसकेको छ। ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत पठाइएको बताइएको छ भने वडा अधिवेशन व्यवस्थापनका लागि विभिन्न जिल्लामा संयोजकसमेत तोकिएका छन्।
आधिकारिकता विवादबीच छुट्टाछुट्टै महाधिवेशन प्रक्रिया
कांग्रेसभित्रको विवाद पछिल्लो समय पार्टीको आधिकारिकतासम्म पुगेको छ। देउवा समूहले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै वैधानिक रहेको दाबी गर्दै आएको छ र पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको जनाएको छ। यही विवादका कारण देउवा पक्ष अर्को समूहले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन।
यसअघि देउवा पक्षले विवाद समाधान नभएसम्म महाधिवेशन अघि बढाउन नहुने धारणा राख्दै आएको थियो। तर अर्को पक्षले अधिवेशन प्रक्रिया अघि बढाएपछि देउवा समूहले पनि छुट्टै महाधिवेशन कार्यतालिका सार्वजनिक गर्दै संगठनात्मक गतिविधि तीव्र बनाएको हो।
महाधिवेशन आयोजक समितिको संयोजकमा डा. शशांक कोइराला छन्। उनले वडा अधिवेशनलाई पार्टीको संगठनात्मक जीवनको महत्वपूर्ण चरणका रूपमा व्याख्या गर्दै नेता, कार्यकर्ता र क्रियाशील सदस्यलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।
पूर्वसभापति देउवाले समेत पार्टीभित्रको मतभेद महाधिवेशनमार्फत समाधान गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।
कांग्रेसका दुई धारले आ–आफ्नै संरचना, प्रतिनिधि र कार्यतालिकासहित महाधिवेशन प्रक्रिया अघि बढाएसँगै पार्टीभित्रको आधिकारिकता विवाद अब संगठनको वडा तहसम्मै पुगेको देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।