काठमाण्डौ । नेपाल सेयरबजार लगानीकर्ता संघले नेपाल धितोपत्र बोर्ड(सेबोन)लाई यसअघि बुझाएको पत्रमा कानुनी व्यवस्था उल्लेख गर्ने क्रममा त्रुटि भएको स्वीकार गर्दै आफ्नो धारणा सच्याएको छ।
संघका अध्यक्ष हरि बहादुर केसीले सेबोनलाई पठाएको संशोधित पत्रमा यसअघि कम्पनी ऐनको प्रावधान फरक किसिमले उल्लेख हुन गएको र बोर्डले पनि सो निर्देशन कम्पनी ऐनका आधारमा नभई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ बमोजिम जारी गरेको देखिएको उल्लेख गरेका छन्।
सेबोनले भदौ ९ गते सबै सूचीकृत कम्पनीलाई जारी गरेको निर्देशनले पूँजीबजारमा पारेको प्रभावबारे लिखित राय मागेपछि संघले असोज २० गते आफ्नो धारणा बोर्डमा पेश गर्दै सार्वजनिकसमेत गरेको थियो। तर उक्त पत्रमा कानुनी आधार उल्लेख गर्ने क्रममा कमजोरी भएको संघले स्वीकार गरेको हो।
संघले संशोधित धारणामा पूँजीबजारको प्रमुख नियामक निकायका रूपमा सेबोनले लगानीकर्ताको हित संरक्षणका लागि समय–समयमा आवश्यक निर्देशन जारी गर्न सक्ने र त्यस्तो अधिकार स्वाभाविक रहेको जनाएको छ।
तर भदौ ९ गतेको निर्देशनले लगानीकर्तामा भय सिर्जना गरेको र त्यसपछि दैनिक कारोबार तथा नेप्से परिसूचकसमेत घटेको संघको दाबी छ। सो प्रभावलाई मध्यनजर गर्दै उक्त निर्देशन फिर्ता लिन संघले बोर्डलाई आग्रह गरेको छ।
संघले आगामी दिनमा यस्ता प्रकृतिका निर्देशन जारी गर्दा सरोकारवालासँग पर्याप्त परामर्श गर्न र नयाँ नीति तथा नियमले बजारमा पार्न सक्ने प्रभावको गहन अध्ययनपछि मात्रै लागू गर्न पनि सेबोनसँग माग गरेको छ।
संघका अध्यक्ष हरि बहादुर केसीले असोज २० गते बोर्डमा बुझाइएको अघिल्लो पत्र आफूले नै तयार गरेको स्पष्ट पारेका छन्। पत्र तयार गर्ने क्रममा बुझाइमा केही कमी–कमजोरी हुँदा लगानीकर्तामा भ्रम सिर्जना भएको भन्दै उनले व्यक्तिगत रूपमा क्षमायाचना समेत गरेका छन्।
उनले अघिल्लो पत्रमा भएका त्रुटिबारे टिप्पणी तथा प्रतिक्रिया जनाउने सबैलाई धन्यवाद दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।