काठमाण्डौ । विवादास्पद अडियो प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको छ।
पार्टीको केन्द्रीय अनुशासन आयोगले सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोबारे जवाफ माग्दै सुनारलाई पत्र पठाएको हो।
बागमती प्रदेशकी पूर्वराज्यमन्त्री रहेकी एक महिलासँग आपत्तिजनक लाञ्छना र धम्कीपूर्ण भाषा प्रयोग गरिएको भनिएको अडियो सार्वजनिक भएपछि सुनार विवादमा तानिएका छन्।
अनुशासन आयोगका एक सदस्यका अनुसार सुनारबाट २४ घण्टाभित्र स्पष्टीकरण मागिएको छ। उनको जवाफ आएपछि थप प्रक्रिया अगाडि बढाइने बताइएको छ।
यसअघि पार्टी महामन्त्री विपिन कुमार आचार्यले उक्त प्रकरणको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन अघि बढाउन निर्देशन दिइएको जानकारी दिएका थिए।
पार्टीले छानबिन नसकिएसम्म सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुनसमेत रोक लगाएको छ।
अडियो प्रकरणपछि सुनारमाथि पार्टीभित्र र बाहिरबाट कारबाहीको माग बढिरहेका बेला अनुशासन आयोगले औपचारिक रूपमा स्पष्टीकरण मागेको हो।
सुनारले भने यसअघि सार्वजनिक अडियो बनावटी भएको दाबी गर्दै पार्टी र राज्यका निकायले गर्ने छानबिनमा सहयोग गर्न तयार रहेको बताएका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।