काठमाण्डौ । एनआईएमबी एस क्यापिटल लिमिटेडले सेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित लाभांशमा करसमेत समावेश छ ।
कम्पनीले लाभांशबापत कुल २० करोड रुपैयाँ वितरण गर्ने प्रस्ताव चौथो वार्षिक साधारणसभामा पेस गर्ने भएको हो । साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश वितरण हुनेछ ।
असोज २७ गते बसेको सञ्चालक समितिको १५७औँ बैठकले साधारणसभा कात्तिक २० गते शुक्रबार आयोजना गर्ने निर्णय गरेको छ । सभा बिहान ११ः३० बजे काठमाण्डौको लाजिम्पाटस्थित कम्पनीको सभाहलमा हुनेछ ।
सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्नेछ । चालु आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
यस्तै, गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरिएको अनुदान रकम अनुमोदन गर्ने विशेष प्रस्तावसमेत सभाको कार्यसूचीमा छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।