काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय ‘नक्कली भगवान्’ जन्मिन थालेको टिप्पणी गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक तथा सांस्कृतिक प्रसंग जोडेर यस्तो टिप्पणी गरेका हुन्।
उनले प्राचीन धार्मिक कथाको उदाहरण दिँदै कुनै समय देवताहरूको संख्या धेरै भएको र पार्वतीको श्रापपछि देवताको जन्म रोकिएको प्रसंग सुनाए।
ओलीले भने, ‘२२–२३ सय वर्षअघि भगवानहरू छ्यासछ्यासती जन्मिँदा तेत्तिसकोटी जन्मिए। धन्न पार्वतीले श्राप दिइछन् र देवता जन्मिन पाएनन्।’ त्यसपछि उनले अहिले भने ‘नक्कली भगवान्’ जन्मिन थालेको टिप्पणी गरे।
कार्यक्रममा ओलीले नेपाली समाजमा विदेशी साधुसन्त वा विद्वान्प्रति बढी आकर्षण देखाउने तर आफ्नै देशका विद्वान्, चिन्तक र ग्रन्थलाई पर्याप्त महत्व नदिने प्रवृत्ति रहेको पनि बताए।
उनले दक्षिणतिरबाट आएका जोगीलाई सहजै सम्मान गर्ने तर आफ्नै समाजका विद्वान्लाई नचिन्ने प्रवृत्तिको आलोचना गरे।
ओलीले नेपाली लेखक तथा विद्वान्ले लेखेका ग्रन्थभन्दा विदेशी लेखकका पुस्तक र विचारलाई बढी उद्धृत गर्ने अभ्यास रहेको भन्दै स्वदेशी ज्ञान, साहित्य र बौद्धिक परम्परालाई पनि महत्व दिनुपर्ने धारणा राखे।
उनको सम्बोधन धार्मिक प्रसंगबाट सुरु भए पनि मुख्य जोड नेपाली समाजले आफ्नै ज्ञान, विद्वान् र बौद्धिक सम्पदालाई चिन्नुपर्ने विषयमा केन्द्रित थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।