काठमाण्डौ । उपभोक्ताले जुनसुकै कम्पनीको खाली एलपी ग्यास सिलिन्डर दिएर अर्को जुनसुकै कम्पनीको भरिएको सिलिन्डर लिन पाउने व्यवस्था गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
अधिवक्ता विमल पोखरेलले दायर गरेको रिटमा ग्यासको कृत्रिम अभाव, कालोबजारी तथा सिलिन्डर साट्दा उपभोक्ताले भोग्दै आएको झन्झट अन्त्य गर्न यस्तो व्यवस्था आवश्यक रहेको दाबी गरिएको छ।
रिटमा उद्योगी तथा डिलरको मिलेमतोमा बजारमा ग्यास अभाव सिर्जना गरी उपभोक्तालाई फरक कम्पनीको नयाँ सिलिन्डर महँगोमा किन्न बाध्य पारिने गरेको आरोप लगाइएको छ।
यस्तो अभ्यासले संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने हक तथा गुणस्तरीय वस्तु र सेवा पाउने उपभोक्ताको अधिकार प्रभावित भएको निवेदकको जिकिर छ।
सरकारले एलपी ग्यासलाई अत्यावश्यक वस्तुको सूचीमा राखे पनि विशेषगरी दसैँ तिहारजस्ता चाडपर्वमा हुने अभाव र कालोबजारीबाट विद्यार्थी मजदुर तथा सर्वसाधारण बढी प्रभावित हुने गरेको रिटमा उल्लेख छ।
निवेदकले ग्यास उद्योगमा सीमित समूहको प्रभाव र सिन्डिकेटका कारण उपभोक्ताले वर्षौंदेखि समस्या भोग्दै आएको दाबी गर्दै जुनसुकै कम्पनीको सिलिन्डर सहज रूपमा साट्न सकिने कानुनी व्यवस्था गर्न अन्तरिम आदेशसमेत माग गरेका छन्।
रिटको प्रारम्भिक सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।