काठमाण्डौ । महिला हिंसासम्बन्धी आरोपपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्तरिक छानबिनमा रहेका सांसद तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारले आफूमाथि लगाइएका आरोप अस्वीकार गरेका छन्।
रास्वपाको अनुशासन आयोगले गठन गरेको छानबिन समितिसमक्ष लिखित र मौखिक बयान दिएका सुनारले सार्वजनिक भएको अडियोमा सुनिएकी महिलालाई आफूले नचिन्ने बताएका हुन्।
पार्टी स्रोतका अनुसार समितिले अडियोमा सुनिएकी महिलालाई चिने–नचिनेको प्रश्न गर्दा सुनारले ‘चिन्दिनँ’ भन्ने जवाफ दिएका छन्। उनले सार्वजनिक भएको अडियोसँग आफ्नो सम्बन्ध नरहेको र उक्त आवाज आफ्नो नभएको दाबीसमेत गरेका छन्।
सुनारले लिखित बयानमा पनि आफूमाथि लागेको महिला हिंसाको आरोप अस्वीकार गरेका थिए।
यसअघि एक सञ्चारमाध्यमले सुनारसँग सम्बन्धित भनिएको अडियो तथा बैंकिङ कारोबारका विवरण सार्वजनिक गर्दै उनीमाथि एक महिलालाई गालीगलौज गरेको, रकम मागेको र धम्की दिएको आरोपसम्बन्धी समाचार प्रकाशित गरेको थियो। त्यस्तै, विवाहको प्रलोभन देखाएर अश्लील तस्बिर तथा भिडियोमार्फत ‘ब्ल्याकमेल’ गरेको आरोपसमेत समाचारमा लगाइएको थियो।
तर यी आरोपलाई सुनारले छानबिन समितिसमक्ष अस्वीकार गरेका छन्। सार्वजनिक अडियोको प्रामाणिकता तथा त्यसमा सुनिएको आवाज सुनारकै हो वा होइन भन्ने विषय पनि छानबिनको क्रममा रहेको छ।
आरोप सार्वजनिक भएपछि रास्वपाले अनुसन्धान प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्दै छानबिन नसकिएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको थियो।
सुनारको इन्कारी बयानपछि अब उपलब्ध प्रमाण, अडियोको परीक्षण तथा अन्य तथ्यका आधारमा अनुशासन समितिले निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।
पार्टीभित्र भने सुनारले आरोप स्वीकार नगरेको अवस्थामा थप कारबाहीका लागि पर्याप्त आधार छ वा छैन भन्ने बहस सुरु भएको बताइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।