काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ७७.७२ प्रतिशतले बढेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २ करोड ५२ लाख ४६ हजार ५४९ रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४२ लाख ६ हजार ३१९ रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानीमा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा २ अर्ब २४ करोड ३६ लाख ५४ हजार रुपैयाँ रहेको बिक्री आम्दानी बढेर चालु वर्षको सोही अवधिमा ४ अर्ब ३१ करोड २९ लाख ४५ हजार रुपैयाँ पुगेको छ। यो करिब ९२.२३ प्रतिशतको वृद्धि हो।
बिक्री आम्दानी बढे पनि कम्पनीको कुल मुनाफा भने २७ करोड ६ लाख ३० हजार रुपैयाँबाट घटेर २३ करोड ७२ लाख १२ हजार रुपैयाँमा सीमित भएको छ।
तर कम्पनीको ब्याज खर्चमा आएको उल्लेख्य गिरावटले खुद नाफा बढाउन सहयोग पुगेको देखिन्छ। समीक्षा अवधिमा कम्पनीको ब्याज खर्च १४ करोड ५० लाख रुपैयाँबाट घटेर ७ करोड ५ लाख ७४ हजार रुपैयाँमा झरेको छ।
कम्पनीको करअघिको नाफा १ करोड ८९ लाख ४२ हजार रुपैयाँबाट बढेर ३ करोड ३६ लाख ६२ हजार रुपैयाँ पुगेको छ।
यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४.४३ रुपैयाँबाट बढेर ७.१९ रुपैयाँ पुगेको छ भने वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी २८.७६ रुपैयाँ कायम भएको छ।
कम्पनीको प्रतिसेयर नेटवर्थ ३८०.०९ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) १९४.४३ गुणा रहेको छ भने दोस्रो बजारमा प्रतिसेयर मूल्य ५ हजार ५९१ रुपैयाँ कायम भएको वित्तीय विवरणमा उल्लेख छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।